म्याग्दी- आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन्। पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ।
बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ। अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन्।
जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन्। यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको मालिका–२ रुमकी टेकसरा बूढाले बताए।
म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ।
विगतका वर्षहरूमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक छ।
प्रतिकिलो ५० रुपैयाँदेखि एक सय रुपैयाँ सम्ममा कृषकले आलु बेच्ने गरेका थिए।
व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्दथे तर यस वर्ष भने प्रतिकिलो ३५ रुपैयाँ मा आलु दिँदा पनि बिक्री हुन नसकेको मङ्गला–४ का तीर्थबहादुर पुनले बताए।
जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा–६, ७ र ८ र अन्नपूर्ण–५, ६, ७ र ८ नं वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ ।
केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको जानकारी दिए।
स्थानीय तहले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन्।
कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो। अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे र हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला र कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर र टोड्के, मालिकाको बिम र दिच्याम, धौलागिरिको गुर्जा र मरेनी तथा बेनीको भकिम्ली र डडुवा आलु उत्पादन हुने पकेट क्षेत्र हुन्।
नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ। उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ। जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्यांक छ।