पोखरामा आँखा रोगको महामारी

विजय नेपाल २४ साउन २०८० १८:५९
6
SHARES
पोखरामा आँखा रोगको महामारी

पोखरा- घरमा तीन सदस्यको आँखा पाकेपछि हरि पौडेल यतिखेर रेखदेखमा छन्। मन्टेश्वरी पढ्ने ५ वर्षीया छोरीको गत साता आँखा पाक्यो। आमासँग लडीबुडी खेल्ने उमेरकी उनीबाटै आमालाई पनि सर्‍यो।

पौडेल दम्पतीका २ सन्तानमध्ये गण्डकी बोर्डिङमा आवासीय होस्टलमा बस्दै आएका छोरा शुक्रबार घर आए। १० वर्षीय छोरा पनि आँखा पाक्ने रोगबाट संक्रमित भए। घरका सदस्यहरू एकाएक आँखाको संक्रमित बनेपछि फेन्सी पसल सञ्चालक हरिलाई घर र पसल दुवै धान्न गाह्रो भएको बताउँछन्।

यस क्षेत्रको सुविधानसम्पन्न हिमालय आँखा अस्पतालमा बिरामीको भीड बढेको सुनेका उनी अस्पताल नगई नजिकैको मेडिकल पुगे। श्रीमती, छोराछोरीलाई देखाए। मेडिकलले आँखामा राख्ने झोल औषधि दिएर पठाएको छ।

त्यही औषधी समयसमयमा दिँदै गरेका उनी निराशा व्यक्त गर्छन्, ‘अहिले केही स्वास्थ्य लाभ गराइरहेका छन्। अझै निको हुने हप्तादिन लाग्ला।’

अघिल्लो महिनासम्म आँखा पाक्ने रोगी फाट्टफुट्ट हिमालय अस्पताल आउने गरेकोमा तीन सातायता बिरामीको संख्या ह्वात्तै बढेको छ। अस्पतालका मेडिकल डाइरेक्टर इलिया श्रेष्ठ भन्छिन्, ‘देशैभर फैलिएको आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जक्टिवाइटिस) का बिरामीको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ।’

उनका अनुसार दैनिक १ हजारदेखि १२ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। आँखा दुख्न थालेपछि उपचार गर्न आउने बिरामीको कारण अस्पताल परिसरमा बिारमीको अत्यधिक चाप बढेको छ।

अस्पतालको टिकट काउन्टर, ओपिडी, फार्मेसी जताततै बिरामीको ठूलो लाइन देखिन्छ। आँखा पाक्ने रोगको संक्रमण फैलिएकोले सचेत बन्नुपर्ने डा. श्रेष्ठको सुझाव छ। रोग जटिल नभए पनि सतर्कता जरुरी रहेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘रोग लागिसकेपछि ज्योति नै गुम्ने भन्ने होइन। तर सतर्कता आवश्यक छ। निको हुन कम्तीमा एकदेखि तीन सातासम्म लाग्न सक्छ।’ आँखामा समस्या देखिए आफूखुसी औषधी प्रयोग गर्नु नहुने र चिकित्सकसँग परामर्श लिएर औषधी प्रयोग गर्नुपर्ने उनको सुझाव छ।

पोखरामा आँखा पाक्ने रोगको महामारी फैलिएपछि पोखरा महानगरपालिकाले विद्यालय बन्द गरेको छ। साउन २४ देखि २६ गतेसम्म पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगर शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले बताए।

सुरुवातमा तीन दिन बिदा दिइएकोमा शनिबारसमेत जोडेर चार दिन बिदा दिइएकाे उनकाे भनाइ छ। अवस्था हेरेपछि महामारी नरोकिए थप योजना बनाउन सकिने उनले बताए। विद्यालय सञ्चालसँगको सहमतिमा अहिलेको बिदा अन्य बिदामा मिलान गर्ने बताइएकाे छ।

आँखा पाकेमा आँखामा चिसो तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखा छोएपछि राम्रोसँग हात धुने गर्नुपर्ने चिकित्सकको सुझाव छ।

तर संक्रमित आँखा सकेसम्म चलाउन नहुने, भीडभाड भएको ठाउँमा नजाने, अरुले प्रयोग गरेको रुमाल–तौलिया प्रयोग नगर्ने तथा आफूखुशी औषधिको प्रयोग गर्न नहुने उनकाे सुझाव छ।

प्रकाशित: २४ साउन २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =