राहुघाट-तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द

हिमाल प्रेस २३ साउन २०८० ७:५६
12
SHARES
राहुघाट-तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द

चितवन- बेनी-जोमसोम सडकको राहुघाट-तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ।

यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए।

रघुगंगा गाउँपालिका-२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उनले बताए।

रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ।

त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक योजना)लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगंगा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताए।

बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी-जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ। सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन्।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिए।

बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिंगो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन्।

गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो। यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो।

प्रकाशित: २३ साउन २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =