त्रुटिपूर्ण भाष्यले मुलुक समस्याको दलदलमा : कमल थापा

हिमाल प्रेस २१ साउन २०८० १६:२४
14
SHARES
त्रुटिपूर्ण भाष्यले मुलुक समस्याको दलदलमा : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबर्जस्त ढ‌गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँनयाँ समस्याको दलदलमा भासिँदै गएको बताएका छन्। काठमाडौँमा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा थापाले देशले भोग्नुपरेको सम्पूर्ण समस्याको जड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत भएको जिकिर गरे।

यस्तै उनले सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली, हिन्दू धर्मलाई लिएर पनि गलत भाष्य निर्माण गरिएको बताए। मुलुकमा विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्गचित्र रहेको दाबी थापाको छ।

उनले भने, ‘सुशासनका माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न संवर्द्धनवादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।’

सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरी प्रदेश तहको संरचना तत्काल खारेजी गर्नुपर्ने आवश्यकता औँल्याउँदै थापाले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्नचिह्न उठिरहेको बताए। उनले बलियो राष्ट्रवदी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरिएर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने र त्यो वातावरण निर्माण गर्न आफू क्रियाशील भइरहेको समेत बताए।

सो प्रशिक्षणमा हिन्दुत्वको विषयमा पार्टीका उपाध्यक्ष डा विष्णु भण्डारी ,संगठन निर्माण सम्बन्धमा पार्टीका महामन्त्री राजाराम बर्तौलाले प्रशिक्षण दिएका छन्।

प्रकाशित: २१ साउन २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =