विश्व स्तनपान सप्ताह

सुरक्षित स्थान नहुँदा स्तनपानबाट वञ्चित शिशुहरू

वातावरण अर्याल २१ साउन २०८० १३:५१
360
SHARES
सुरक्षित स्थान नहुँदा स्तनपानबाट वञ्चित शिशुहरू

हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वव्यापी रूपमा ‘विश्व स्तनपान सप्ताह’ मनाइन्छ। ‘वर्ल्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन (डब्ल्यूएबीए) ले सन् १९९२ मा सुरु गरेको यो अभियान सन् १९९५ देखि विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा मनाउन थालिएको हो।

बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउने आमा र शिशुमा हुन सक्ने समस्याबारे जनसमुदायलाई सचेत गराउनका लागि विभिन्न नाराका साथ स्तनपान सप्ताह मनाउने गरिन्छ। यस वर्षको नारा ‘स्तनपान गरौँ, काम गरौँ’ छ। स्तनपान गराउने आमाका लागि कार्यस्थलमा सुरक्षित वातावरण निर्माण गर्ने र बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यो नारा तय गरिएको छ।

शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नुपर्छ। यसले शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउनुका साथै दूध चुस्ने क्षमता बढाउँछ। सुत्केरी हुँदा केही दिनसम्म आउने पहेँलो बिगौती दूधले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। बच्चालाई रोग लाग्नबाट बचाउने हुँदा यसलाई शिशुको पहिलो ‘प्राकृतिक खोप’ भन्ने गरिन्छ।

जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुलाई पूर्ण स्तनपान भनिन्छ। यसो हुँदा बच्चाको शारीरिक र मानसिक विकासका लागि आवश्यक तत्त्वसँगै पानीको मात्राको पूर्ति पनि आमाको दूधले गर्छ। अनि बच्चालाई अन्य कुनै पनि थप खाना खुवाउन आवश्यक पर्दैन।

यसरी निरन्तर ६ महिनासम्म स्तनपान गराउँदा बच्चाको शारीरिक र मानसिक विकाससँगै आमा र बच्चाबीच भावनात्मक सम्बन्ध पनि विकास हुने गर्छ। शिशुको मस्तिष्क र रोगसँग लड्न सक्ने क्षमताको विकास त हुन्छ नै आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुर्‍याउँछ। शिशु ६ महिनाको भएपछि आमाको दूधका साथसाथै थप आहारा खुवाउन थाल्नुपर्छ। जसलाई हामी अतिरिक्त स्तनपान भन्छौँ।

स्तनपानले प्राकृतिक परिवार नियोजनका रूपमा पनि काम गर्ने गर्छ। आमाले जति धेरै शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ। त्यसैले स्तनपान पोषणका लागि मात्र नभएर आमा र बच्चाको स्वास्थ्यका निम्ति पनि उत्तिकै महत्त्वपूर्ण छ। स्तनपानले आमालाई स्तन क्यान्सर हुनबाट बचाउँछ। आमाको डिम्बाशयको क्यान्सर र अनावश्यक वजन बढ्नबाट पनि यसले जोगाउँछ। स्तनपान गराउँदा बच्चा जन्माएपछिको पाठेघरलाई सामान्य अवस्थामा फर्कनसमेत यसले मद्दत गर्छ।

आमाको दूध खाने बच्चालाई झाडापखाला हुँदैन। यसले बच्चाको आन्द्राको विकास गर्न मद्दत गर्छ। आमा र बच्चा दुवैलाई निद्रा लगाउँछ। त्यस्तै स्तनपानले बच्चाको दाँत र गिजाको विकासमा पनि मद्दत पुर्‍याउँछ। दम र कानको समस्याबाट पनि यसले जोगाउँछ।

निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुलाई पछि रक्त क्यान्सर, मधुमेह, उच्च रक्तचापजस्ता समस्याले अरूको तुलनामा कम सताउने विभिन्न अध्ययनले देखाएका छन्।

‘नेसनल डेमोग्राफिक हेल्थ सर्वे २०२२’ का अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ५५ प्रतिशतमात्र छ। १० मध्ये करिब छ जना बच्चाहरूले मात्र जन्मेको दुई दिनसम्म प्रारम्भिक स्तनपान गर्ने पाएको देखिएको छ। सन् २०१९ मा गरिएको नेपाल बहुसूचक सर्वेक्षणअनुसार ४१.७ प्रतिशतले मात्र एक घण्टाभित्र स्तनपान गर्ने गरेको पाइएको छ।

कानुनले स्तनपानलाई नवजात शिशुको नैसर्गिक अधिकारका रूपमा परिभाषित गरेको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले स्तनपानसम्बन्धी कानुनी व्यवस्था गरेको छ। प्रसूति बिदाको नियमभित्र नवजात शिशुलाई स्तनपान प्रवर्धन र सहजीकरण लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था छ। साथै सबै प्रकारका सरकारी, गैरसरकारी र निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा बच्चालाई दूध खुवाउन आमाका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

यसका साथै प्रसूतिगृह तथा अस्पतालमा मातृ-शिशुमैत्री कक्षको व्यवस्था र हरेक कार्यालय, स्कुल, सार्वजनिक स्थलमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्थाको पनि उल्लेख रहेको छ।

यति हुँदाहुँदै पनि कतिपय कुरा कागजमा मात्र सीमित छन्। धेरै सावर्जनिक स्थल जस्तै- विमानस्थल, प्रतीक्षालय, पार्क र कार्यस्थलमा स्तनपानका लागि सुरक्षित, शान्त र सफा ठाउँको व्यवस्था भएको पाइँदैन।

सार्वजनिक स्थलमा स्तनपान गराउने उपयुक्त वातावरण नहुँदा आमाहरू आफ्ना बालबालिकालाई ‘फर्मुला’ दूध खुवाउन बाध्य छन्। जसले बच्चाको स्वास्थ्यमा असर गर्छ।समाजमा पुरुषले बाटो छेउमा पिसाब फेर्नुलाई सामान्य मानिन्छ। महिलाले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउँदा लाजको विषय बन्छ। त्यसैले राष्ट्रिय नीतिभन्दा पहिले हाम्रो सोच बदल्नुपर्छ। ‘स्तनपान अमृत समान’ भन्ने कुरा हरेकले हरेकलाई बुझाउन जरुरी छ। स्तनपानका लागि उपयुक्त वातावरण बनाइदिनु हामी सबैको दायित्व हो।

प्रकाशित: २१ साउन २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast