अभावमा एक सीमारक्षक बस्ती : शिक्षा स्वास्थ्यबाट अहिले पनि वञ्चित

हिमाल प्रेस २० साउन २०८० १७:४२
18
SHARES
अभावमा एक सीमारक्षक बस्ती : शिक्षा स्वास्थ्यबाट अहिले पनि वञ्चित कुतियाकवर बस्तीमा नदीले गरिरहेकाे कटान। तस्बिर : रासस

महेन्द्रनगर- एकसमय भौगोलिकरूपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी। महाकाली नदीमा झोलुंगे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबसा भएर आवतजावत गर्नुपर्थ्याे। भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीकाे फेला पर्दा यहाँका नागरिकले बेलाबखत दुःख पनि पाउँथ्ये। तर महाकाली नदीमा झोलुंगे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई राहत मिलेको छ।

अहिले महाकालीमा झोलुंगे पुलसँगै चार लेनको पक्की पुल पनि बनेपछि चहलपहल ह्वात्तै बढेको छ। अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रिया अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने आशा गरिएकाे छ।

महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता करिबकरिब इतिहास भइसक्यो। तर अहिले पनि दोधारा चाँदनीको सीमा बस्तीका बासिन्दा भने विभिन्न दुखः कष्ट सहेर जीवनयापन गर्न बाध्य छन्।

दोधारा चाँदनी-१० कुतियाकवर दक्षिण सीमामा पर्ने भारतसित जोडिएको गाउँ हाे। यहाँ २०२२ सालमा बस्ती बसेको हो। कुतियाकवरमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि हाल ४२ परिवार मात्रै बस्दै आएका छन्। उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ। दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ। हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ।

तटबन्ध निर्माणका लागि ठोस पहल अझै नभएको स्थानीय टेकबहादुर सुनारले बताए। ‘अहिले पनि जोगबुढा र महाकालीको मिलन बिन्दु छेउछाउमा बाढीले कटान गरेर धान खेती बगाइरहेको छ,’ उनले भने, ‘सीमाको पहरेदारका रूपमा अभाव सहेर बस्यौँ। बाढीले कटान गर्दा बस्ती नै जोखिममा छ।’

दलित र विपन्न समुदायका नागरिकको बसोबास रहेको कुतियाकवरमा पक्की संरचनामा नाममा अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा बाढीबाट बच्न ‘सेफ हाउस’ बन्दै छ। यहाँ प्रायः घर कच्ची छन्। ‘हामीलाई बस्तीमा बालबालिका पढाउन प्राविसम्मको स्कुल भइदिए पनि सहयोग पुग्थ्यो,’ स्थानीय भीमसिंह सुनारले भने, ‘अहिले पनि झोलुंगे पुल तरेर जाँदा बाटो छेउको उखुबारीमा बाघ र स्यालको त्रास बालबालिकालाई जहिल्यै रहन्छ।’

विसं २०७४ मा जोगबुढा नदीमा झोलुंगे पुल बनेको हो। त्यसपछि बस्तीमा बिजुलीको प्रबन्ध गरिएको थियो। यी दुईबाहेक अन्य विकास निर्माणका काम यहाँ हुन नसकेको सुनारको भनाइ छ। ‘यहाँको प्रमुख समस्या नै नदी कटान हो,’ उनले भने, ‘नेताहरूको आश्वासनले मात्रै तटबन्ध बन्दैन्।’

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारबाट पछि परेको कुतियाकवरका नागरिक मजदुरीका लागि भारतीय बजारमाथि निर्भर छन्। ‘सीमामा थिचोमिचो सहेर पनि दशकौँदेखि रक्षक भएरै बस्दै आयौँ,’ सुनारले भने, ‘झोलुंगे पुल बनेपछि आवागमनमा सहज भएको छ।’

स्थानीयका अनुसार नदी कटानको समस्या विगत पाँच दशक देखिको हो। महाकाली नदीको दुवैतर्फ तटबन्ध निर्माण गरिएकाे छ। तर कुतियाकवर क्षेत्रमा तटबन्ध बन्न सकेकाे छैन। दोधारा चाँदनी-१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवरवासी लामो समयदेखि राष्ट्रको सेवक भएर सीमा सुरक्षामा तैनाथ रहेको बताए। ‘त्यो बस्ती सीमा संरक्षणका लागि पनि महत्वपूर्ण छ। त्यहाँको विकास निर्माणमा ध्यान दिन जरुरी छ, सुविधा पाए पो सीमाका रक्षकका रूपमा बस्लान, त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी छ,’ उनले भने।

उनका अनुसार तटबन्ध निर्माणका लागि बहुउद्देश्यीय ठेक्का गरिएकाे थियाे। तर नदीमा पानीको सतह नघट्दा निर्माणमा समस्या छ। कुतियाकवरतर्फ एक हजार सात सय घनमिटर तटबन्ध निर्माणको ठेक्का गरिए पनि निर्माण कम्पनीको ढुलासुस्तीले काम रोकिएको उनले बताए।

अझै पनि यहाँका स्थानीय अभावमा दैनिकी चलाइरहेको वडाध्यक्ष सिंहले बताए। ‘बस्ती मात्रै नभएको भए त्यो भूमि संरक्षण हुनेमा आशंका नै थियो,’ उनले भने, ‘धेरै कष्ट झेलेर पनि कुतियाकवरवासीले बस्ती कुरिरहेकै छन्। उनीहरू सीमा स्तम्भ बनेर बसेका छन्।’

बस्ती कटान र वर्षाका बेला डुबानमा पर्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष सिंहले कतिपय बेला बाढीबाट जोगिन आम्भोजतर्फ बसाइँ सर्ने गरेका बताए। कुतियाकवरका बालबालिकालाई अध्ययनका लागि धेरै समस्या छ। उनीहरू पढ्न जोगबुढा नदी पारीको ओमकार आधारभूत विद्यालय धाउँछन्।

बालबालिका आधा घण्टा हिँडर आउजाउ गर्छन्। सोही विद्यालयमा कक्षा-७ मा अध्ययनरत मानव सुनारले घरबाट विद्यालय पुग्न निकै समस्या हुने गरेको बताए। ‘जोगबुढा नदी पारी वन्यजन्तुको डर त्रास रहन्छ, बाघ र स्यालको बढी डर हुन्छ,’ उनले भने, ‘झोलुङ्गे पुल नहुँदा त झन डुंगा चढेर स्कुल आवतजावत गर्नुपर्ने बाध्यता थियो।’ रासस

प्रकाशित: २० साउन २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast