मोरङ- मोरङको सुन्दरँहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा ढकाललाई अख्तियारको टोलीले गत असार २२ गते नियन्त्रणमा लिएको थियो। वडा कार्यालयहरूमा विद्युतीय उपकरण तथा सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अख्तियारको विज्ञप्तिमा भनिएको छ,’निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज लेखा अधिकृत ढकाललाई बिगो दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।’