मौखिक प्रतिवेदनले टारेका प्रचण्डमाथि प्रश्नैप्रश्न

हिमाल प्रेस १८ साउन २०८० १३:४१
6
SHARES
मौखिक प्रतिवेदनले टारेका प्रचण्डमाथि प्रश्नैप्रश्न

माओवादी बैठक : प्रतिवेदन पढ्नेबित्तिकै अध्यक्षकै गोजीमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेताहरूले यसपटकको केन्द्रीय समिति बैठकमा फरक अनुभव गरेका छन्।

पहिलो दिन बुधबार धारणा राख्ने १७ केन्द्रीय सदस्यहरूले फरक अनुभव लिएको बताए। बैठक बिहीबार पनि बसेको छ। बैठक झन्डै आठ महिनापछि बसेको हो।

बैठक सुरु गर्दा नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव र राजनीतिक उतारचढावले बैठक समयमा राख्न नसकेको प्रस्ट पारेका थिए।

प्रतिवेदन नपाएपछि  हिस्स

बैठकमा सहभागीले अध्यक्ष प्रचण्डले सांगठनिक र राजनीतिक प्रतिवेदन प्रस्तुत गर्लान् भनेर सोही अनुसार तयारी गरेका थिए। तर उनीहरूको तयारी काम लागेन।

प्रचण्डले प्रतिवेदनका नाममा बुँदागत ‘खेस्रा’ मात्र वाचन गरे। उनले भाषणमै पार्टी, समसामयिक राजनीति र आगामी कार्यदिशाबारे आफ्ना धारणा राखेका थिए। आफू नेतृत्वमा गठबन्धन सरकार गठन गर्न सफल भएको र सरकारले जनजीविकाका सबालमा केही राम्रा काम गरेको दाबी पनि उनले गरेका थिए।

विगतमा अध्यक्षले प्रतिवेदन वाचन गरेपछि सहभागीहरूको हातहातमा पुग्थ्यो। प्रतिवेदनबारे विभिन्न कोणबाट बहस र टिप्पणी हुन्थ्यो। तर यसपल्ट प्रतिवेदन हात नपरेपछि केन्द्रीय सदस्यहरू हिस्स परेका छन्।

‘हामी कसैले प्रतिवेदन पाएका छैनौँ। अध्यक्ष (प्रचण्ड)ले आफैँ वाचन गर्नुभयो। आफैँ राख्नुभयो,’ माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने।

बैठकका लागि प्रतिवेदन तयार नभएको भने होइन। सांगठनिक प्रतिवदेन उपमहासचिव जनार्दन शर्माले र राजनीतिक प्रतिवेदन वर्षमान पुनले तयार पारेका थिए। तर ती प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिनै नपाएको पार्टी सचिवालयका एक सदस्यले बताए।

प्रचण्डले बैठकमा भनेका थिए,‘आज यस्तै भयो। अब भोलि तपाईँहरूको हातहातमा प्रतिवेदन पर्नेछ।’

लाभको पदमा जानेबित्तिकै कार्यकर्तामाथि विश्वास नगर्ने?

प्रचण्ड तीन दशकदेखि पार्टीको शीर्ष तहमा रहँदै आएका छन्। त्यसैले पार्टीमा उनको ‘रजगज’ चल्छ भन्ने गरिन्छ। उनको निर्णय नै माओवादीभित्रको विधान हो भन्ने पनि छ। तर केन्द्रीय समितिको पहिलो दिनको बैठकमा त्यस्तो नदेखिएको सहभागीले बताएका छन्।

बैठकमा बोल्नेले ‘बालुवाटारमा नयाँ युवराज/युवराज्ञी जन्मिएको आरोप लगाएका छन्। ‘सामन्तवाद सकियो जस्तो लागेको थियो। तर बालुवाटार हेर्दा त्यस्तो लाग्दैन। नयाँ युवराज/युवराज्ञी जन्मिएको अनुभव भयो,’ केन्द्रीय सदस्य ओम शर्माले भनेका थिए। उनले पार्टी बिग्रिनुको प्रमुख दोषी अध्यक्ष प्रचण्ड नै भएको आरोप लगाएका थिए।

केन्द्रीय सदस्य लक्ष्मण पन्तले घुमाउरो तरिकाले प्रचण्डको स्वकीय सचिव दाहाल नै भएको र गृहमन्त्रीको स्वकीय सचिव पनि श्रेष्ठ नै श्रेष्ठ भएको विषयलाई संयोग मात्र मान्न नसकिने बताए।

पन्तले नेताको पारिवारिक सदस्यलाई निजी वा स्वकीय सचिवबाट हटाउन केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने मागसमेत गरे।  उनले भने, ‘सचिवालयमा बस्ने विश्वास पात्रै नै हो। त्यो हामीलाई पनि जानकारी छ। तर जनयुद्धका बेला पार्टीको जुनसुकै व्यक्ति सचिवालयमा राख्दा विश्वास कायम हुने, तर आज लाभको पदमा जानेबित्तिकै पार्टीको नेताकार्यकर्ताप्रति विश्वास कायम नगर्ने? १० वर्षे जनयुद्धमा सचिवालयमा किन आफ्ना छोराछोरी आफन्त राखिएन?’

बैठकमा कार्यकर्ताले अध्यक्ष चुन्न पाउनुपर्ने विषय उठेको थियो। बैठकमा बोल्ने क्रममा ‘अध्यक्षमा चुनिने भए प्रचण्डले समेत बाक्सा थाप्न तयार रहनुपर्ने’ बताएका थिए।

प्रचण्डले छाडे विकल्प दिन तयार 

बैठकका पहिलो दिनका वक्ताले माओवादीमा धेरै कमजोरी भएको औँल्याएका थिए। उनीहरूले अध्यक्ष प्रचण्डले सही ठाउँमा व्यवस्थापन गर्न नसक्दा माओवादीमा कमजोरी देखिएको बताएका थिए।

माओवादीका एक नेताका अनुसार घुमाउरो तरिकाले प्रचण्डले छाडे विकल्पका लागि तयार रहेको बताएका थिए। प्रचण्ड परिवारवादमा डुबेको, सत्ताको राजनीतिमा केन्द्रित रहेको र पार्टी राजनीतिमा अनुपस्थित रहेको सहभागीले औँल्याएका थिए। पार्टी गतिशील बनाउन प्रचण्ड कमसल रहेको आरोप उनीहरूको थियो।

भावनात्मक अभिव्यक्ति

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले बैठकलाई भावनात्मक बनाउन खोजेका थिए। उनले पुरानै शैलीमा पार्टी बचाउन सबै नेता नलागेको, सरकारले गरेको राम्रा कामको प्रचार नपाएको लगायतका गुनासो गरेका थिए।

लामो भाषण गरेका प्रचण्डले अन्य केन्द्रीय सदस्यलाई बोल्न भने ५ मिनेट समय दिएका थिए। बैठकमा धारणा राख्नेले सरकारमा सहभागीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, हरेक प्रकरणमा नाम जोडिएकालाई अनुसन्धानमा सघाउनुपर्ने, पार्टी निर्माणका लागि चुनावी प्रक्रिया अवलम्बन गर्नुपर्ने जोड दिएका थिए।

अबका कार्यक्रम

‘प्रचण्ड’ले पार्टीले तीनमहिने संगठनात्मक अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन्। पार्टी संगठनमा देखिएका राजनीतिक, वैचारिक तथा सांस्कृतिक चुनौती हल गर्दै जनताको भरोसायोग्य पार्टी निर्माणका लागि अभियान सञ्चालन गर्नुपर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ।

जनतासँग पार्टी अभियान नाम दिइएको संगठन विस्तार अभियानअन्तर्गत पार्टीका सबै तहका नेता जनताको घरदैलोमै बिताउने प्रस्ताव प्रचण्डले राखेका हुन्।

नेताहरूमा सहर, सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकाममा मात्रै केन्द्रित रहेको प्रचण्डको भनाइ थियो। उनले पद र प्रतिष्ठाका लागि जेसुकै पनि गर्ने प्रवृत्ति त्याग्न र जीवनशैली पारदर्शी बनाउन निर्देशन पनि दिएका थिए।

प्रचण्डले विधानको सम्मान गर्दै जनतामाझ जानुपर्ने प्रस्ताव गरेका छन्। अभियानअन्तर्गत पार्टीको महाधिवेशनको दस्ताबेजमा आधारित रहेर व्यापक बहस, अन्तरक्रिया र प्रशिक्षण गर्ने प्रस्ताव छ।

मंसिरमा हुने विधान अधिवेशनसम्म संगठन र त्यसपछि विशेष महाधिवेशनसम्म नयाँ वैचारिक संश्लेषणमा पुग्ने कार्ययोजना माओवादीको छ।

बैठकमा प्रचण्डले ७ लाख ५२ हजार ९५६ कार्यकर्ताको आँकडा पेस गरेका छन्। प्रतिवेदनमा कोशीमा ९९ हजार ६०१, मधेशमा १ लाख १६ हजार ९७५, बागमतीमा १ लाख ४७ हजार ३५३, गण्डकीमा ६६ हजार ६८७, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको उल्लेख छ।

पार्टीलाई विधानसम्मत बनाउन २२ जना महिला केन्द्रीय समितिमा थप्ने र फागुनसम्ममा विशेष महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डको छ। माओवादीभित्र अहिले कुनै कार्यक्रम ठिक ढंगले चलेको छैन। आठौँ महाधिवेशनबाट चुनिएको केन्द्रीय समिति ‘आधिकारिक’ होइन। महाधिवेशनको अघिल्लो दिनसम्म ‘राष्ट्रिय सम्मेलन’ को नाम दिइएको थियो। भोलिपल्ट प्रचण्डले ब्यानर परिवर्तन गरेर महाधिवेशनमा परिणत गरेका थिए।

माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति भनिएको छ। तर प्रचण्डले ३८५ बनाएका थिए। त्यसमा अहिले २४ महिला थपिएको छ। वैकल्पिक केन्द्रीय समिति १९९ जना छन्।

प्रकाशित: १८ साउन २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast