कोशी प्रदेशमा आँखा पाक्ने रोगका बिरामी बढ्दै

विद्यालयमा निःशुल्क आँखा जाँच

विवेक विवश रेग्मी १८ साउन २०८० ११:०९
204
SHARES
कोशी प्रदेशमा आँखा पाक्ने रोगका बिरामी बढ्दै

इटहरी– कोशी प्रदेशमा आँखा पाक्ने रोगका बिरामी बढेका छन्। कोशी प्रदेशको राजधानी, विराटनगर, इटहरी, धरान, इनरुवा, बिर्तामोड, दमकलगायत पहाडी जिल्लामासमेत आँखा पाक्ने समस्या देखिएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले बढी मात्रामा बालबालिका प्रभावित बनेको जनाएको छ।

चिकित्सकहरूका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण अरुमा चाँडो सर्छ। विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ।

नेत्ररोग विशेषज्ञहरू पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन्। मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरूको भनाइ छ।

मौसममा भइरहेको फेरबदल, धुलो, धुवाँ, आँखाको सुरक्षामा हेरचेक्र्याइँ, असावधानी आदि कारणबाट आँखा पाक्ने रोगले प्रकोपकै रूप लिएको चिकित्सकहरूको दाबी छ।

संक्रमण भएका बालकालिकामा आँखा रातो हुने, कचेरा आउने, आँखा टालिने, सुन्निने, अत्यधिक दुख्ने, पोल्ने, हेर्न गाह्रो पर्ने, निरन्तर आँसु बग्नेलगायतका समस्या देखिएको छ।

यसैबीच इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना गरेको छ। विद्यालय प्रांगणमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट आएका मानिसहरूको निःशुल्क आँखा जाँच तथा शिविर गरिएको हो। विराटनगर आँखा अस्पतालसँगको सहकार्यका विद्यालयले आँखा जाँच गरेको हो।

पछिल्लो समय आँखा पाक्ने बिरामीको संख्या बढेको भन्दै विद्यार्थी, अभिभावक, शिक्षकसहित समुदायलाई निःशुल्क शिविर गरिएको विद्यालयका सह-प्रधानाध्यापक रमेश निरौलाले बताए।

उनका अनुसार स्कूले विद्यार्थीमा पनि आँखा पाक्ने समस्या हुँदा अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उपचार गर्न प्रेरित गर्ने उदेश्यले शिविर आयोजना गरिएको हो।

‘हामीले आयोजना गरेको शिविरमा ३ सय बढी लाभान्वित हुनुभएको छ, दोस्रो चरणमा यही आइतबार पुनः शिविर आयोजना हुनेछ,’ निरौलाले भने, ‘शिविरमा आवश्यक पर्ने औषधि पनि निःशुल्क उपलब्ध गराएका छौं, थप उपचार गर्नुपर्ने अवस्थामा भने अस्पतालसँग सहकार्य गर्नेछौं।’

उनका अनुसार विद्यार्थीहरूलाई २ सय रुपैयाँसम्मको औषधि निःशुल्क उपलब्ध गराइएको छ।

विराटनगर आँखा अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता मनिषकुमार खवासले खासगरी दूषित वातावरणका कारण पछिल्लो समय आँखाका बिरामी बढेको बताए। ‘दूषित वातावरणका कारण आँखाका बिरामी बढेका छन्, यो सरुवा रोग भएकाले जसलाई, जुनै बेला पनि सर्न सक्छ,’ उनले भने, ‘चाँडै सर्ने रोग भएका कारण आँखालाई बेलाबेला चिसो पानीले सफा बनाउनुपर्छ।’

आँखाका बिरामी भएको अवस्थामा चिसो पानीले सफा राख्ने, अरु मानिसभन्दा केही परै बस्ने, आँफूले प्रयोग गरेका कपडा, रुमाल अरुलाई प्रयोग गर्न नदिने सुझाव दिए।

उनका अनुसार विराटनगर आँखा अस्पतालमा अन्य समयमा दैनिक १ हजारभन्दा बढी आँखाका बिरामी आउने भएपनि अहिले उक्त संख्या बढेको छ। पछिल्लो समय कोसी प्रदेशका विभिन्न जिल्लाबाट आँखाका बिरामी बढ्दो रहेको उनले बताए।

‘अहिले दैनिक पन्ध्र सयसम्म आँखाका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘बढीजसो आँखा पाक्ने समस्याका बिरामी आउने गरेका छन्।’

यो किसिमको भाइरल रोग एकदेखि डेढ महिनासम्म निरन्तर रहनसक्ने उनको भनाइ छ।

शिविरमा आएका बिरामीहरूले चस्मा लगाउनुपर्ने अवस्था रहेमा १ हजार २ सय बराबर निःशुल्क हुने, मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अवस्थामा लेन्स, औषधि, ल्याब टेस्टलगायत छुट हुने, छड्के आँखाको अप्रेसन गर्नुपनरेमा १२ हजारसम्मको छुट वा उपचार हुने खवासले बताए।

प्रकाशित: १८ साउन २०८० ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast