
काठमाडौँ- सरकारले आज (मंगलबार) संघीय शिक्षा ऐनको विधेयक संसद्मा पेस गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअगाडि एउटा कार्यक्रममा बोल्दै मंगलबार मन्त्रिपरिषद्ले मस्यौदा पारित गरी संघीय शिक्षा ऐनको विधेयक संसद्मा पठाउने बताएका थिए।
शिक्षा ऐन, २०२८ लाई समयसापेक्ष बनाउन भन्दै २०७३ सालमा आठौँ संशोधन भएको थियो। तर आठौँ संशोधनले विद्यमान शैक्षिक प्रणालीलाई पर्याप्त रूपमा समेट्न नसकेको र पुरानो भइसकेको भन्दै नयाँ ऐन निर्माणको आवाज उठ्दै आएको छ। यस्तै ऐन संघीय ढाँचाअनुसार नहुँदा कैयाैँ जटिलता कायम छन्।
ऐनले शिक्षकको सरुवा, बढुवा, काज, कारबाहीको अधिकार प्रदेश सरकारलाई दिने परिकल्पना गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ऐनको मस्यौदामा शिक्षक दरबन्दी मिलान तथा २०७४ साल यता भर्ना भएका शिक्षकको व्यवस्थापनको विषयलाई पनि समेटिएको छ। यस्तै सरकारी शैक्षिक संस्था र विश्वविद्यालयको व्यवस्थापन, निःशुल्क शिक्षा कार्यान्वयन, शिक्षामा स्थानीय तहको भूमिकालाई पनि नयाँ ऐनको मस्यौदामा समेटिएको छ।
मस्यौदामा शिक्षक कर्मचारीको औषधि उपचारलगायत सामाजिक सुरक्षाको विषयलाई पनि समेटिएको छ। संघीय शिक्षा ऐन बनेमा निजी शैक्षिक संस्थाको दायित्व र अधिकारबारे थप प्रस्ट हुने अपेक्षा छ।