साइकल यात्रीलाई मुक्का हानेर बेहोस अवस्थामा घिसार्ने आयुष धनौटीमा रिहा

हिमाल प्रेस १६ साउन २०८० ६:३८
30
SHARES
साइकल यात्रीलाई मुक्का हानेर बेहोस अवस्थामा घिसार्ने आयुष धनौटीमा रिहा

काठमाडौँ- साइकल यात्रीलाई मुक्का प्रहार गरेर बेहोस अवस्थामै घिसार्ने विराटनगरका युवक धरौटीमा छुटेका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगरका आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

विराटनगर महानगरपालिका–४ दुधफारम चोकमा साइकल यात्रीलाई मुक्का प्रहार गरी बेहोस बनाएर ढालेपछि भेटवालले घिसार्दै सडक किनारमा ल्याएर छाडिदिएका थिए । पछि बेहोस अवस्थामै युवालाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो ।

भेटवालविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएकोमा सोमबार थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अर्का प्रतिवादी १७ वर्षीय किशोर भने फरार छन् । उनलाई पक्राउ गर्न अदालतबाट ३५ दिने म्याद जारी भएको छ ।

असार २० गते राति उद्योगमा मजदुरी गरेर फर्कंदै गर्दा दुधफारम चोकमा भेटवालले विराटनगर–६ का पवनकुमार साह हलुवालाई मुक्का प्रहार गरेका थिए । त्यसपछि सडकमा अमानवीय तवरले घिसारेको भिडियो भाइरल बनेको थियो ।

भिडियोमा देखिएअनुसार बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले एक्कासि आक्रमण गरेका थिए । उनको साइकल भेटवालका काकाका छोराले फ्याँकिदिएका थिए ।

कार चालक तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीसहित भेटवाल दाजुभाइविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले कार्कीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो।

प्रकाशित: १६ साउन २०८० ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast