 
                             
                                            काठमाडौँ- आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै गायिका समीक्षा अधिकारीले चारवटा फेसबुक पेजविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा आज (आइतबार) झुटो खबर फैलाएर मानसिक यातना दिएको भन्दै उजुरी दिएकी हुन्।
अधिकारीले ताजाखबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नामक फेसबुक पेजविरुद्ध उजुरी दिएकी छन्। ती फेसबुक पेजबाट बिनाप्रमाण जे मन लाग्यो त्यही लेखेर आफ्नो इज्जत र प्रतिष्ठामाथि आँच आउने कार्य गरेकाले कानुनी कारबाही गर्न र उक्त आईडीहरू बन्द गराउन उनले प्रहरी समक्ष अनुरोध गरेकी छन्।
केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई अष्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेको भन्ने झुटो खबर फैलाइएको उनको दाबी छ।
‘वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 