शेखरसँगको भेटमा बालकृष्णले भने : निर्दोष छु तर लोकतान्त्रिक संयन्त्रलाई विश्वास गर्दा जेलमा परेँ

हिमाल प्रेस ३१ साउन २०८० २०:०१ | Wednesday, August 16, 2023
शेखरसँगको भेटमा बालकृष्णले भने : निर्दोष छु तर लोकतान्त्रिक संयन्त्रलाई विश्वास गर्दा जेलमा परेँ

काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई कांग्रेस नेता डा. शेखर कोइरालाले भेटेका छन्। केन्द्रीय कारागार सुन्धारा पुगेर कोइरालाले आज बुधबार खाणलाई भेटेका हुन्।

निकै विचलित अवस्थामा रहेका खाणलाई डा. शेखरले भेट्दा आफू निर्दोष सावित हुने कुरा सुनाएका थिए। ‘म उच्च अदालतबाट छुट्नेछु। म निर्दोष छु। लोकतान्त्रिक  संयन्त्रलाई विश्वास गर्दा मलाई यो अवस्थामा पुर्‍याइयो,’ खाणले शेखरलाई सुनाएको खाणका एक सहयोगीले बताए।

बुधबार दिउँसो ३ बजेदेखि करिब एक घण्टासम्म कारागार परिसरमा दुई नेताबीच कुराकानी भएको हो। डा. शेखर पहिलो पटक खाण भेट्न त्यहाँ पुगेका थिए। शेखरलाई कांग्रेस इत्तर समूहका नेताको रुपमा लिइरहँदा यो भेटलाई अर्थपूर्ण भनिएको छ।

भेटमा खाणले आफूलाई रिहा गर्न मागसहित अदालतमा रिट दायर गरेको र आफू निर्दोष ठहरिने दाबी गरेका छन्। उनको उक्त निवेदन उच्च अदालत पाटनमा पेसी चढेर सुनुवाइ तयारी भइरहेको छ। अन्य कुराकानी के भयो बाहिर आएको छैन तर आफू निर्दोष रहेको र उच्च अदालतबाट न्याय पाएर पार्टीमा पुन: फर्कने र सक्रिय हुने बताएका थिए।

खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशको कैफियत प्रतिवेदन पाटन उच्चअदालतले झिकाइसकेको छ। खाण रिहा हुने कि जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय उच्च अदालतको हुनेछ।

प्रकाशित: ३१ साउन २०८० २०:०१ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast