 
                             
                                            शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए।
उनले भने, ‘हामीभन्दा ठूला मान्छेले नै सिकाएको हुँदा हामीले नमस्कार गर्नुपर्छ भनेर विद्यार्थीले सिक्ने हुँदा अभियान चलाएका हौँ।’
विद्यार्थीलाई बानी पार्ने र नमस्कार गर्ने एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालयले जनाएको छ। वार्षिक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकाले संस्कारयुक्त शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताए।
शिक्षकका अतिरिक्त व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर हरेक दिन बिहान ९ः३० बजे नै विद्यालयको प्रवेशद्वारमा आएर नमस्कार गर्न खटिने गरेका छन्। संसार बदल्ने हो भने पहिला आफू बदल्नुपर्छ भन्ने हेतुले शिक्षकले नै नमस्कार गरेर सुरुआत गरेको सहायक प्रधानाध्यापक घनश्याम गौतमले बताए।
व्यवस्थापन समिति र शिक्षकको बैठकले निर्णय गराएर अभियानको सुरुवात गरिएको पूर्वप्रधानाध्यापक तीर्थराज परियारले बताए। विद्यार्थीलाई किताबको शिक्षा सिकाएर राष्ट्रलाई फाइदा नगर्ने हुँदा संस्कार सिकाउन थालिएको सो वडाका निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए।
सुरुमा शिक्षकहरूले नमस्कार गर्दा अप्ठ्यारो लागेको तर अहिले सहज भएको कक्षा ९ मा अध्ययन गर्ने प्रमिला ढुंगानाले बताइन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासोका बीच विद्यार्थीलाई अनुशासनको परिधिभित्र बाँध्न अभियानले सघाउने विद्यालयको विश्वास छ। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 