शिक्षककै पक्षमा उभियो ट्रेड युनियन, विद्यालय शिक्षा ऐन संशोधन हुनुपर्ने माग

हिमाल प्रेस ३१ साउन २०८० ६:३४ | Wednesday, August 16, 2023
शिक्षककै पक्षमा उभियो ट्रेड युनियन, विद्यालय शिक्षा ऐन संशोधन हुनुपर्ने माग

काठमाडौँ- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले प्रस्तावित शिक्षा ऐन–२०८० मार्फत शिक्षकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी सरकारले सार्वजनिक गरेको विद्यालय शिक्षा ऐन, २०८० ले प्रबन्ध गरेका केही दफा संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र संस्थागत हकहितको खिलाफमा रहेकाले त्यसलाई सच्याउन माग गरेका हुन्।

‘मस्यौदाले देशभर कार्यरत लाखौँ स्थायी, अस्थायी/करार, राहत, साविक उच्च मावि शिक्षक, बाल विकास शिक्षा, शिक्षण सिकाइ अनुदान शिक्षक, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दाको न्यायोचित सम्बोधन गर्न उदासीन रहेको देखिन्छ’, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विसं २०७५ तथा त्यसपछि स्थायी भई कार्यरत शिक्षकलाई पेन्सन प्रयोजनमा यस मस्यौदाले थप अन्योल र अन्याय थपेको बताइएको छ।

देश विकास र गुणस्तरीय शिक्षा उत्पादन गर्न पेसाप्रतिको आकर्षण र सम्मान गर्नुपर्ने ठाउँमा झन उल्टै शिक्षक तथा शिक्षक कर्मचारी श्रमिक विरोधी ऐन ल्याउन खोजिएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ

विद्यालय शिक्षा ऐन संशोधनसहित पुनः संसद्मा पेस गर्न नेपाल ट्रेड युनियन कांग्रेसले सरकारसँग आग्रह गरेको छ। नेपाल शिक्षक महासंघले यही साउन २८ गतेदेखि सञ्चालन गरिरहेको विरोधका कार्यक्रम आफ्नो समर्थन र ऐक्यबद्धता रहेको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ।

प्रकाशित: ३१ साउन २०८० ६:३४ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast