 नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई विद्यालय शिक्षा विधेयकको मस्यौदामा आफूहरूका मुद्दा समावेश गर्न ध्यानाकर्षण गराउँदै नेपाल शिक्षक महासंघका प्रतिनिधि। तस्बिर साभार : लक्ष्मीकिशोर सुवेदीको फेसबुक
                             नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई विद्यालय शिक्षा विधेयकको मस्यौदामा आफूहरूका मुद्दा समावेश गर्न ध्यानाकर्षण गराउँदै नेपाल शिक्षक महासंघका प्रतिनिधि। तस्बिर साभार : लक्ष्मीकिशोर सुवेदीको फेसबुक
                                            काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा परिमार्जन गर्नुपर्ने विषयका बारेमा राजनीतिक दलहरूलाई अवगत गराउन थालेको छ।
सोही क्रममा महासंघ नेतृत्वको टोलीले मंगलबार नेपाली कांग्रेसका प्रमुख सचेतक रेमश लेखकसँग भेट गरी प्रस्तावित मस्यौदामा परिमार्जन र समावेश गर्नुपर्ने विषयबारे अवगत गराराइएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
उनका अनुसार लेखकसँग भेट गरी शिक्षक र विद्यालयका कर्मचारीका माग, विगतमा भएका सहमति र मस्यौदामाथिका सुझाव हस्तान्तरण गरिएको छ। सुवेदीले यस क्रममा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक, मुख्य नेता तथा शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिका सांसदहरूसँग क्रमशः भेट गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनले भने, ‘भेटघाटमा क्रममा आफ्ना अडान राख्नुका साथै अबको आन्दोलनबारे जानकारी पनि दिँदै आएका छौँ।’
यस्तो छ महासंघले बुझाएको पत्र
श्रीमान् प्रमुख सचेतकज्यू नेपाली काँग्रेस संसदीय दल
विषय : विद्यालय शिक्षा ऐन २०८० को मस्यौदा सम्बन्धमा।
प्रस्तुत विषयमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्न जारी गरिने क्रममा रहेको ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा मन्त्री परिषद्बाट पारित भई संसदमा प्रवेश गर्ने क्रममा छ। हामीलाई प्राप्त जानकारीअनुसार प्रस्तावित मस्यौदाका कतिपय प्रबन्धहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार (धारा ३४, उपधारा ३) र शिक्षक-कर्मचारीको पेसागत स्वभिमान र सुरक्षाविपरीत रहेकोले ती प्रबन्धहरु परिवर्तन गरी लामो प्रतीक्षापछि आउने क्रममा रहेको यस ऐनलाई शिक्षा र शिक्षाकर्मी मैत्री बनाउने पक्षमा पहल, पैरवी र पक्षीकरण गरी दिनुहुन अनुरोध गर्दछौँ।
साथै तपाईंको संसदीय दलमा रहनुभएका माननीय सांसद तथा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहनुभएका सबै माननीय सांसदज्यूहरुलाई यो विषय जानकारी गराई शिक्षा र आम शिक्षक- कर्मचारीको पक्षमा बहस, पैरवी र सहयोग गर्न गराउन आवश्यक पहल गरिदिनु हुन अनुरोध छ।
लक्ष्मीकिशोर सुवेदी, महासचिव
नेपाल शिक्षक महासंघ

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 