वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर

हिमाल प्रेस १० भदौ २०८० १३:०५ | Sunday, August 27, 2023
वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर गभर्नर महाप्रसाद अधिकारी।

काठमाडौँ- नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन्।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ : २५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुवात गर्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताएका हुन्।

‘प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुवात गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ,’ उनले भने।

बैँक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उनको भनाइ छ। राष्ट्र बैँकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैँक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए।

उनले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताए।

नेपाल बैँकर्स संघका अध्यक्ष सुनिल केसीले देशभर वित्तीय साक्षरता पुर्‍याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको उनको भनाइ थियो।

अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले वार्षिक ४० अर्ब रुपैयाँ राजश्व बुझाउने गरेको र झण्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिए। रासस

प्रकाशित: १० भदौ २०८० १३:०५ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast