वर्षमान पुनको आरोप : सरकारबाहिर हुँदा एमाले छट्पटायो

हिमाल प्रेस ३ भदौ २०८० १९:१८ | Sunday, August 20, 2023
वर्षमान पुनको आरोप : सरकारबाहिर हुँदा एमाले छट्पटायो वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासपचिव वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी एमाले सत्ताबाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन्। पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए।

एमालेले जेसुकै विषयमा अवरुद्ध गरेर जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई बन्दी बनाउनुको कारण त्यही छटपटीको अभिव्यक्ति भएको उनले बताए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको आरोप पुनले लगाए।

‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ’, उनले भने, ‘तीन वर्ष सत्ता बाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’

पुनले निःशर्त संसदको अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रह गरे। सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको भन्दै उनले उक्त प्रतिवेदन तयार पारेपछि चित्त नबुझे छानबिन समिति गठन गर्न सकिने विकल्प रहेको उल्लेख गरे।

प्रकाशित: ३ भदौ २०८० १९:१८ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast