बागमती प्रदेशमा लम्पी स्किन राेग विरुद्धको खोप अभियान सुरु

हिमाल प्रेस ३० साउन २०८० १९:०७ | Tuesday, August 15, 2023
बागमती प्रदेशमा लम्पी स्किन राेग विरुद्धको खोप अभियान सुरु फाइल तस्बिर। हिमाल प्रेस

बागमती- बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ। बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा खोप अभियान सुरु गरिएकाे हाे।

खोप अभियानअन्तर्गत विगत तीन दिनमा १३ हजार ५ सय १६ गाईगोरु तथा बाछाबाछीलाई खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ। पहिलाे दिन ४ हजार ४ सय ६७, दोस्रो दिन ४ हजार ६ सय ९४ तथा तेस्रो दिन ४ हजार ३ सय ३३ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ।

उक्त अभियानअन्तर्गत पहिलो ३ दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए। त्यहाँ २ हजार ४ सय ८८ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो।

त्यसैगरी मकवानपुरका २ हजार ४४ पशुमा, काभ्रेका १ हजार ५ सय २२, सिन्धुलीका १ हजार १ सय ९८ पशु, धादिङका १ हजार ५५, काठमाडौँका १ हजार ४२, नुवाकोटका ९ सय ९८, रामेछापका ९ सय ८२, सिन्धुपाल्चोकका ८ सय ५६, रसुवाका ५ सय ८३पशुमा खाेप लगाइएकाे छ। त्यस्तै भक्तपुरका ५ सय ५४, ललितपुरका १७ पशु र दोलखाका ८३ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको ।

भदौ १ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत ५० हजार पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जानकारी दिएको छ। सो रोग लागेमा गाईगोरु र बाछाबाछीमा स्वरो आउने, जीउ काँप्ने, छालाको रोग परिवर्तन हुने तथा जीउभरि घाउ, खटिरा हुने, अन्नपानी र दाना नखाने गरेको र त्यस रोगबाट पशुको मृत्यु हुने गरेको बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा ब्रजकिशोर ठाकुरले बताए।

६ महिना अगाडि देखापरेको सो रोगको पहिचानमा समस्या रहेको थियो। काठमाडौँको त्रिपुरेश्वरको प्रयोगशालाको परीक्षणपश्चात रोगको पहिचान भई अहिले खोप अभियान सुरु भएको उनले बताए। रासस

प्रकाशित: ३० साउन २०८० १९:०७ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast