प्रहरीको हत्या अभियोग लागेका आमाछोरा पुर्पक्षका लागि जेल चलान

हिमाल प्रेस ७ भदौ २०८० १८:५५ | Thursday, August 24, 2023
प्रहरीको हत्या अभियोग लागेका आमाछोरा पुर्पक्षका लागि जेल चलान

बागलुङ-  बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका-६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए।

कुँवरको होटलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायव निरीक्षक पौडेल गत साउन ८ गते राति होटलमै मृत फेला परेका थिए। होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा गएको र होटलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोराले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए। विवादका क्रममा आमाछोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उनले बताए।

पौडेलले घाँटीमा लगाएको सुनको सिक्रीसमेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ। पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। रासस

प्रकाशित: ७ भदौ २०८० १८:५५ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast