पार्टी बैठकमा प्रचण्डको निर्देशन : सुन प्रकरणमा दोषी देखिएका नेताहरू जेल बस्न तयार हुनू

हिमाल प्रेस २८ साउन २०८० २०:५१ | Sunday, August 13, 2023
पार्टी बैठकमा प्रचण्डको निर्देशन : सुन प्रकरणमा दोषी देखिएका नेताहरू जेल बस्न तयार हुनू

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सय किलो सुन प्रकरणको छानबिन र अनुसन्धानमा सरकार गम्भीर भएर लागेको ब्रिफिङ पार्टी बैठकमा गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा दाहालले भ्रष्टाचार र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी भए जेल बस्न तयार रहन भनेको सचिव डिलाराम आचार्यले बताए।

‘अनियमिता र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिएमा जेल बस्न तयार हुनुहोला। भ्रष्टाचार र अनियमितामा कुनै सम्झौता हुँदैन। सरकारको नीति सबैलाई बराबर हो। दोषी देखिएका कसैलाई पनि छोडिने छैन,’ दाहाललाई उदृत गर्दै उनले भने, ‘चाहे त्यो माओवादीको पदाधिकारी नै किन नहोस्।’

आजको बैठकमा पार्टी उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेता कार्यकर्ता पनि कारबाहीको भागीदार हुने बताएको उनको भनाइ छ। सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ। उनीहरूमाथि विभिन्न गम्भीर आरोप पनि लगाइएको छ।

तर, आजको बैठकमा नेताहरूको नाम किटान गरी छलफल भने नभएको आचार्यले जानकारी दिए। ‘बैठकमा कुनै नेता विशेषको नाममा छलफल नभए पनि दोषी देखिए माओवादीका पदाधिकारीलाई पनि छोड्नुहुन्न भन्ने छलफल भयो। महरा कमरेडको नाम उल्लेख भएन। दोषीलाई कारबाही गर्नेमा बैठक एक मत भएको छ।’

प्रकाशित: २८ साउन २०८० २०:५१ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast