‘नेपालले यूएईसँग श्रम कूटनीतिलाई प्राथमिकता दिनुपर्छ’

हिमाल प्रेस ९ भदौ २०८० १९:१३ | Saturday, August 26, 2023
‘नेपालले यूएईसँग श्रम कूटनीतिलाई प्राथमिकता दिनुपर्छ’

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालले श्रम कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल–यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको कार्यक्रममा उनले खाडी र अन्य श्रम गन्तव्य मुलुकसँगको द्विपक्षीय सम्बन्धमा श्रम कुटनीति अपरिहार्य रहेको बताएका हुन्।

राजदूत क्षेत्रीले यूएईमा ठूलो संख्यामा नेपाली आप्रवासी कामदार रहेकाले नेपालले जनता–जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्नसक्ने बताए। चेम्बरले राजदूत क्षेत्रीसहित नेपालका लागि यूएईका नवनियुक्त राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले नेपालबाट हुने कपडा, गलैंचा र हस्तकलाका सामानले युएईमा राम्रो बजार पाउन सक्ने बताए।

साथै त्यहाँको बजारमा नेपाली सामानको प्रवर्द्धन गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। खाडी मुलुकहरू नेपालका लागि पर्यटन र लगानीको राम्रो स्रोत हुन सक्ने उनको भनाइ थियो। सरकारी अनुमानअनुसार करिब ५ लाख नेपाली रोजगारीका लागि युएईमा रहेका छन्।

‘नेपालले उच्च मूल्यका वस्तुहरू युएईको बजारमा निर्यात गरी पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाउनुपर्छ,’ उनले भने, ‘यूएईबाट पर्यटकको संख्या बढाउनुपर्ने आवश्यकता छ। गत वर्ष करिब ६०० पर्यटक मात्र नेपाल आएका थिए।’ कार्यक्रममा नेपालका लागि युएईका राजदूत अल शम्सीले दुवै देशले सहकार्यबाट लाभान्वित हुने गरी भविष्य निर्माण गर्ने प्रतिबद्धता गरे।

प्रकाशित: ९ भदौ २०८० १९:१३ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast