निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ : चन्द्र ढकाल

हिमाल प्रेस २८ साउन २०८० १६:४० | Sunday, August 13, 2023
निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ : चन्द्र ढकाल फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सारदर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेखसमेत गरे।

ढकालले विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह गरेका छन्। अन्य मुलुकमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालकोभन्दा निकै सहज रहेको बताउँदै नेपालले यसमा पुनरावलोकन गर्न आवश्यक रहेको औँल्याए। ‘२३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा १ घण्टा, १७ मा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत र १६ मुलुकमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ। भुटानमैसमेत आयात र निर्यातमा समान समय लाग्छ। तर, नेपालका भन्सारमा ११ घण्टा लाग्ने गरेको छ,’ उनले भने।

अध्यक्ष ढकालले यो अवस्थामा सुधार नगरी निर्यात प्रवद्र्धन हुन नसक्ने बताए। उनले विश्व बैंकको एउटा प्रतिवेदनले कच्चा पदार्थमा भन्सार महसुल छुट, पुँजीगत सबै वस्तुमा भन्सार छुट वा अर्धप्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरे।

अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकद्वार प्रणाली लागू गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुको परीक्षण भन्सार बिन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेसिनजस्ता न्यूनतम् प्रविधिको प्रयोग गरी भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको धारणा राखे।

प्रकाशित: २८ साउन २०८० १६:४० | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast