नर्सिङ कलेज बन्द भएपछि सञ्चालक आन्दोलित

हिमाल प्रेस २५ साउन २०८० १६:२० | Thursday, August 10, 2023
नर्सिङ कलेज बन्द भएपछि सञ्चालक आन्दोलित

चितवन- यहाँका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरू आन्दोलित भएका छन्। उनीहरूले चिकित्सक शिक्षा सरोकार संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण बन्द भएका भन्दै उनीहरू आन्दोलित बनेका हुन्। उक्त संघर्ष समितिले बिहीबार  पत्रकार सम्मेलन आयोजना गरी उक्त ऐनका कारण देशभर दुई सय २८ शिक्षण संस्था बन्द भएकामा चितवनका ९ वटा नर्सिङ क्याम्पस परेको छ।

हाल देशभरका सीटीईभीटीअन्तर्गत सञ्चालित प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७, स्टाफ नर्सका ७७ र विश्वविद्यालयअन्तर्गतका स्नातक तह बिएन १० एवं बिएस्सी नर्सिङका आठ वटा कार्यक्रम बन्द भएका छन्।

समिति संयोजक शम्भु सुवेदीले कार्यक्रम बन्द हुँदा विद्यार्थी देश छोडेर विदेश जान बाध्य भएको बताए। उक्त ऐनले स्नातक तहमा स्वास्थ्य विज्ञानका सबै कार्यक्रममा भर्ना क्षमताको २० प्रतिशतमा सीमित गराईएको उनको गुनासो थियो।

सो ऐनबमोजिम सीटीईभीटी र विश्वविद्यालयका कार्यक्रम एउटै क्याम्पसमा सञ्चालन गर्न पाइँदैन। त्यसका लागि कम्तीमा एक सय शय्याको अस्पताल आवश्यक हुन्छ। यसअघि ५० शय्याको अस्पतालमा नर्सिङ पढाई हुँदै आएकाे थियाे।

एक सय शय्याभन्दा माथिका अस्पतालले पनि प्रमाणपत्र तह वा स्नातक तहमध्ये एउटा मात्रै पढाउन पाउने व्यवस्था छ। स्वास्थ्य संकाय सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था पनि छ।

यसअघि अन्य अस्पतालमा प्रयोगात्मक कक्षा गराएर पढाइ हुँदै आएका धेरै क्याम्पस छन्। संयोजक सुवेदीले एक सय शय्याको अस्पताल सञ्चालन गर्न दुई अर्ब रुपैयाँ लगानी हुने र तोकेअनुसारको जनशक्ति व्यवस्थापन गर्न कठिन हुने बताए।

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सिटिइभिटीको पुनःसंरचना गरिनुुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाको तत्काल भर्ना खोल्नुपर्ने माग संघर्ष समितिको छ। यस्तै आयोग र सीटीईभीटीका कारण बन्द भएका कलेजमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा खोसिएका रोजगारी सुनिश्चित गर्नुपर्नेलगायत माग पनि गरिएको छ। रासस

प्रकाशित: २५ साउन २०८० १६:२० | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast