जहाज कुर्दाकुर्दै चार बालकको मृत्यु

हिमाल प्रेस ३१ साउन २०८० ११:५३ | Wednesday, August 16, 2023
जहाज कुर्दाकुर्दै चार बालकको मृत्यु

हुम्ला- दुर्गम हिमाली जिल्ला हुम्लामा खराब मौसमका कारण नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनामा चार बालकको ज्यान गएको छ।

विभिन्न रोगबाट पीडित बिरामीलाई अन्यत्र लैजान जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा दुर्गमका नागरिकले यसै गरी ज्यान गुमाउने गरेका छन्। जिल्लाको एकमात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन्।

सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका छ महिनाका इमरान सुनार, सिमकोट-७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ-१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली-४ का पाँच महिनाका  सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालकी सिनियर अनमी सरीता बोहराले बताइन्।

‘हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन,’ उनले भनिन्। नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन।

बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा परेका छन्।

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका छ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सुरज सुनारले गुनासो पोखे।

अस्पतालका  डा. रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरिएको थियो। निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो।

‘बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन,’  डा. रावतले भने। सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको हो। रासस

प्रकाशित: ३१ साउन २०८० ११:५३ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast