जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा

हिमाल प्रेस ३२ साउन २०८० ८:४५ | Thursday, August 17, 2023
जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा पहिराले चिराचिरा परेको घर अवलोकन पहिराले चिरचिरा परेको उत्तरी गोरखाका धार्चे गाउँपालिका, खानीगाउँको एक घरको अवलोकन गर्नुहुँदै गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ । पहिराले खानीगाउँका ३२ घर पहिराको उच्च जोखिममा परेको छ।

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ।

पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ।

‘२०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’, उपाध्यक्ष गुरुङले भने, ‘केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ।’ वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्री भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ। घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनले बताए।

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भने, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ।’ पहिराको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उनको भनाइ छ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन्। बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ। पहिरोले खानीगाउँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन्।

प्रकाशित: ३२ साउन २०८० ८:४५ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast