 
                            
                                            पोखरा- मुस्ताङको कागबेनीमा आइतबार राति लेदोसहितको बाढीले २९ घर पूर्णरुपमा क्षति भएका छन्। यस्तै १३ घरमा आंशिक क्षति भए। बाढीले १ पक्की पुल, ३ काठे पुल, १ झोलुङ्गे पुल, १ स्काभेटर, ३ मोटरसाइकल, २ चारपाङ्ग्रे गाडी बाढीमा बगेका छन्। कमै पानी पर्ने मुस्ताङमा एक्कासी आएको बाढीले कागबेनी बजार खण्डहर बन्न पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए।
उनका अनुसार क्षतिको विवरण संकलनसँगै घर बगाएकाहरूमध्ये ३० देखि ४० जनालाई उद्धार गरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ को समाजघरमा स्थनान्तरण गरिएको छ। विपत् उनीहरूको खानपीनको व्यवस्था गाउँपालिकाले गर्ने सोमबार दिउँसो विपत् व्यवस्थापन समितिले निर्णय गरेको छ।
यस्तै, १ सय ५० जना कामदार बिस्थापित भएकोमा उनीहरूलाई जोमसोम ल्याएर राखिएको छ। मुस्ताङमा खासगरी खेतीपाती र कन्स्ट्रक्सनको लागि बाहिरी जिल्लाबाट कामदार जाने गर्दछन्। कागखोलाको बाढीले कागबेनीको तटीय बस्ती जलमग्न भएकोले अझै पनि सुरक्षाकर्मी सहयोगमा सामानहरू सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए।
हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनदेखिको अविरल वर्षासँगै आइतबार राति वारागुङ मुक्तिक्षेत्र वडा ४, कागबेनी खण्डहर नै बनाउने गरी बाढी जानुलाई धेरैलाई अत्प्रत्यासित ठानेका छन्।
मुक्तिनाथ माथिबाट बग्ने कागखोला, झोङबाट बग्ने खोलाको बाढी कागबेनीमा आएर यसरी ठूलो भौतिक क्षति पुगेको हो। वारागुङ–२ छेङगुर, झोङ र पुटाक गाउँको लेकको खहरेखोलामा पनि बाढी आएको थियो। ती खोलाहरू कागबेनीमा आएर मिसिन्छन्।
गाउँपालिकाअन्तर्गत मुक्तिनाथमाथिबाट बग्ने खहरे खोला थुनिँदा बाढीको रुप लिएको पूर्व अनुमान भए पनि त्यसो नभएको प्रमुख जिल्ला अधिकारी केसी बताउँछन्। बाढी आएको तत्काल खबरपछि मानिसहरू घर छोडेर सुरक्षित स्थानमा लाग्दा मानवीय क्षति भने हुन नपाएको प्रजिअ केसीले बताए। झोङमा बाढी आएको भन्ने कुरा तत्कालै थाहा भएपछि कागबेनी सहित तटीय क्षेत्रमा सूचना पु¥याइएको थियो।
हेर्दाहेर्दै घर बग्दा रातिको बेलामा उद्धार कार्यमा कठिनाइ भएको वारागुङ मुक्तिक्षेत्र अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए। उनका अनुसार मुक्तिनाथ क्षेत्रबाट राति ७ बजेतिर आएको बाढी कागबेनी प्रवेश गर्दा साढे ७ बजेर ४५ मिनेट गएको थियो। सुरुमा खोला थुनिएको भनिए पनि त्यसो नभएको प्रमुख जिल्ला अधिकारी केसीको दाबी छ। उनी भन्छन्, ‘मुस्ताङको भूगोल पनि बुझ्नुपर्ने हुन्छ। यहाँको भौगोलिक अवस्थाभन्दा फरक छ। थोरै पानी परे पनि माटो र ढुंगा एकैचोटि बगाएर ल्याएर क्षति ठूलो गर्ने हुन्छ। माटो र ढुंगासहित लेदो आउँछ।’
माथितिर बढी पानी परेको कारण ढुंगामाटो र लेदोसहित एक्कासि बाढीको रुप लिएको स्थानीय बताउँछन्। मुस्ताङमा यतिखेर यातायात सम्बन्ध बिच्छेद हुँदा इन्धनसँगै खाद्यान्न अभाव छ।
के के भयो क्षति?
बाढीले वडा कार्यालय, इलाका प्रहरी कार्यालय, धर्मशाला, समाजघर, आमा समूहको भवन, घट्ट, पक्की पुल, प्रभु बैंक बसेको भवन, युथ क्लब, लोमान्थाङ जाने पक्की पुल, सामुदायिक विद्यालय लगायतमा क्षति पुगेको छ।
प्रहरीले संकलन गरेको विवरण अनुसार विद्यार्थीको होस्टेल रहेको कागबेनी गुम्बाको एकतले भवन, दशकोठे पक्कीघर, आङ्ग्या गुरुङको टिनको छाना भएको फर्निचर, पेमा रिङजिङको घाँस राख्ने घर, तेन्जिङ, ओङजु, सोनम फुर्वा गुरुङ र धावा थापाको घर, धावा दोर्जेको घर बगाएको छ।
यसैगरी, मिलन युथ क्लबको दुईतले पक्की घर, वडा कार्यालयको भवन, कागबेनीको प्रहरी चौकी भवन, छिरिङ पुटिनको घर, ल्हाक्पा ढेन्डुकको दुईतले घर, युङडुङ गुरुङको तीनतले पक्की घर, सोनम आङ्पोको घर, नोर्बु तिरीको तीनतले खासा होटल, जोनीको घर, लामाको घर, आमा समूहको भवन, कर्म एङजिङको घर, ल्हमोको घर, छेप्तेन होटल, होटल ग्रिन कन्साङ, छिमिक घोर्जे, होटल रिभर साइड, छिकी ल्हमोको घर, समाजघर, कागबेनी घट्ट, लोमान्थाङ जाने पक्की पुल पूर्णमा क्षति भएको छ।
टेन गुरुङको दुईतले पक्की घर पूर्ण रुपमा बगाएको छ। गाउँलेको दुईतले हट रुम, कुन्साङ गुरुङको भुइँतलाको १५ कोठा क्षति भएको छ भने पेम्बा गुरुङको एकतले ६ कोठे पक्की घर, लामा चन्द्र गुरुङको दुईतले पक्की घर, धर्मशाला श्राद्धस्थल, थेन्जोङ छेप्तेन गुरुङको दुईतले घर बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता प्रहरी निरीक्षक गोपीकृष्ण सुुवेदीले जनाए।
बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको हुँदा जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। सोमबार बिहानै प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलको कमाण्डमा २५ जनाको टोली, सशस्त्र प्रहरी बलको स.प्रहरी नायव उपरीक्षक विजय हमालको कमाण्डको कमाण्डमा टोली र नेपाली सेनाको प्रमुख सेनानी लेखनाथ कटुवालको कमाण्डमा ४६ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रदेश सरकारले सहयोग पठाउँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कागबेनीमा भेलबाढीबाट विस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन्। उनीहरूको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघसंस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे।
सोमबार प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक डाकेर उनले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आएअनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरूमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूबाट आवश्यक समन्वय, स्रोतसाधन परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 