गण्डकीका ९८ प्रतिशत घरमा बिजुली

हिमाल प्रेस ६ भदौ २०८० १८:५९ | Wednesday, August 23, 2023
गण्डकीका ९८ प्रतिशत घरमा बिजुली प्रतिनिधिमूलक तस्बिर।

कास्की- गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ।

प्रदेशमा विद्युत्‌को पहुँच नपुगेका दुई हजार आठ सय ८४ घरधुरीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका तीन सय ९१ घरधुरीमा विद्युत् विस्तारको काम सुरु भएको छ।

बाँकी घरमा समेत यसै वर्षभित्र विस्तार गरिसक्ने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको तयारी छ। ऊर्जा तथा जल स्रोतमन्त्री सरस्वती अर्याल तिवारीका अनुसार ढोरपाटन नगरपालिका-६, छेन्तुङका ती घरमा घरेलु सौर्य ऊर्जा जडान सुरुआत गरिएको र मंसिरभित्र बत्ती बल्नेछ। अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा बिजुली पुगेको बताइन्छ।

मन्त्रालयमा एक सय दिनमा भएका गरेका कार्यप्रगति आज (बुधबार) सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री अर्यालले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा प्रदेशभर आधुनिक ऊर्जा विस्तार गरिने बताए।

मन्त्रालयले पानीका लागि घण्टौँसम्म डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाइने जनाएको छ। एक गाग्री पानीका लागि बिहानभर पालो पर्खनुपर्ने बाध्यता हटाउनका लागि अभियानका रूपमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने मन्त्री तिवारीले बताए।

मन्त्रालयले प्रदेशका ११ वटै जिल्लाका स्थानीय तहलाई परिपत्र गरी आफ्नो पालिकामा पानीको स्रोत अभावले समस्या भएका ठाउँको पठाउन आग्रह गरेको थियो। स्थानीय तहले पठाएका आधारमा डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दुई सय ४० लिफ्टिङ आयोजनाका लागि दुई करोड अनुदान दिएको जनाएको छ। त्यसै गरी गत वर्ष १७ हजार तीन सय ४८ घरधुरीमा निजी धारा जडान गरिएको र ९० हजार दुई सय जनसंख्या लाभान्वित भएका छन्।

ऊर्जा मन्त्रालयले गत वर्ष ८५ दशमलव ४४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका सचिव इन्जिनियर डा. सन्तोष कैनीले बताए। उनका अनुसार गण्डकीका अन्य मन्त्रालयमध्ये धेरै वित्तीय प्रगति हासिल भएको छ। रासस

प्रकाशित: ६ भदौ २०८० १८:५९ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast