 
                             
                                            कैलाली- टीकापुरमा केरामा देखिएको टीआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको संक्रमण देखापरेको थियो ।
पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण संगठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ।
कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ। प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ।
छलफलका क्रममा कार्यदलका संयोजक कृषि वैज्ञानिक डा रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गरे। उनले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताए।
‘हामीले नमूना लिएर परीक्षण गरेका बारीमा पुग्दा स्थिति डरलाग्दो छ । त्यहाँ ६०/६५ प्रतिशत बिरुवामा संक्रमण फैलिएको छ’, डा खड्का भन्छन्, ‘रोग फैलिएको क्षेत्रमा नष्ट गर्नु राम्रो हुन्छ भने अन्य क्षेत्रमा विशेष सावधानी आवश्यक छ । अन्य क्षेत्रको स्थलगत अवलोकन गर्दा संक्रमण फैलिएको पाइएको छ।’
माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ। कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा संकलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे।
‘रोगको संक्रमण पुष्टि भइसकेपछि हतोत्साहित नभएर रेखदेख गर्नुपर्छ। बारी बाहिरको सामग्री बारीमा नलिने र भित्रको सामग्री बाहिर नलिने व्यवस्था मिलाउन सक्नुपर्छ’, उनले भने, ‘विशेषगरी सवारीसाधन र पानीबाट बढी जोखिम भएका कारण बारीमा सवारीसाधनमा रोक लगाउन जरुरी छ।’
कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको संक्रमण फैलिएको देखाएको छ। कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ।
बिरुवाबाट तीन–चार महिनामै लक्षण देखिने गरेको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफैँ जिम्मेवार हुनुपर्ने बताए। उनले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिए।
कैलाली केरा उत्पादक संघका अध्यक्ष दीपेन्द्र थारूले रोगको सङ्क्रमण देखिएपछि किसान सचेत भएको बताए।
‘विगतमा पनि प्राकृतिक विपत्तिका कारण ठूलो नोक्सानी व्यहोर्दै आएका छौँ। अब यस रोगले केरा किसान विस्थापित हुने अवस्था छ’, उनी भन्छन्, ‘केरा नष्ट गर्न तयार छौँ । हामी केरा व्यवसाय छाडेर अर्को गर्न तयार छौँ, राज्यले विकल्प खोजिदिनुपर्यो।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 