कारागार कैदी मृत्यु प्रकरण : आफन्तले शव बुझ्न मानेनन्

हिमाल प्रेस २८ साउन २०८० ६:५८ | Sunday, August 13, 2023
कारागार कैदी मृत्यु प्रकरण : आफन्तले शव बुझ्न मानेनन्

संखुवासभा- जिल्ला कारागार संखुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्न मानेका छैनन्। बुधबार बिहान संखुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोेद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २७ वर्षीय आकास बलामीको शंकास्पद मृत्यु भएको थियो। पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि शनिबार शवपरीक्षण भने गरिएको छ।

पीडित पक्षसँग सहमतिपछि शनिबार दिउँसो शवपरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। किटानी जाहेरीपछि शवपरीक्षण गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन्।

पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाममात्र जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो नाम सार्वजनिक गरेको छ।

अनुसन्धान टोलीले सीसीटीभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शंकास्पद रहेको पीडितको गुनासो छ। सीसीटीभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो।

जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी लक्ष्मी चौधरीलगायत विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका छन्।

कारागारका निमित्त प्रमुख घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक चौधरीलगायत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो। रासस

प्रकाशित: २८ साउन २०८० ६:५८ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast