 
                             
                                            ढोरपाटन– मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ।
२८ गते आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो। बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिएका छन्।
बाढीले पोल र तारमा क्षति पुर्याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनको भनाइ छ। ‘अहिले विद्युत् पूर्णरूपमा अवरुद्ध छ। मर्मतको काम भइरहेको छ,’ प्रजिअ केसीले भने।
बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति पुर्याएको छ। केसीका अनुसार बाढीले दुईवटा चारपाङ्ग्रे सवारीसाधन, ३० मोटरसाइकल, २५ पशुचौपाया, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल र एक विद्यालयमा आंक्षिक क्षति पुर्याएको छ। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 