 कागबेनीमा बाढीले पुर्याएको क्षति। फाइल तस्बिर : रासस
                             कागबेनीमा बाढीले पुर्याएको क्षति। फाइल तस्बिर : रासस
                                            म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागखोलामा आएको बाढीले पुर्याएको क्षतिको विवरण १० दिनपछि आज (मंगलबार) सार्वजनिक गरिएको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा संकलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्याएको जनाएको छ। भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र संघरसंस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।
‘नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ हजार बराबरको क्षति भएको छ,’ उनले भने, ‘सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति भएको छ।’
उक्त क्षतिमध्ये व्यक्तिका ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रूपमा क्षति भएको छ। ९ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुँदा २४ वटा गाई र एक वटा घोडा मरेका छन्।
२९ वटा दुई पाङ्ग्रे र तीन वटा चार पाङ्ग्रे सवारीसाधन क्षति भएको छ। २९ जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको ३ करोड ९ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ। १२ वटा सरकारी तथा सामुदायिक संरचनामा ४ करोड ८० लाख ६० हजार क्षति भएको गाउँपालिकाले जनाएको छ।
१८ जना कृषकको ४५ रोपनीभन्दा बढी जग्गा बाढीले पुरेको छ। २७४ स्याउका बोट बाढीले नष्ट गरेको छ। साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको वस्तीमा पसेको थियो।
कागबेनीमा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीलाई आइतबार लकरमा राखेको १ करोड ६५ लाख सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।
माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ। कागबेनीको वस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत् आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन्। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 