कागबेनीको बाढीले एक अर्बको क्षति

हिमाल प्रेस १० भदौ २०८० १२:३५ | Sunday, August 27, 2023
कागबेनीको बाढीले एक अर्बको क्षति

बागलुङ- गएको साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको घरमा आश्रय लिएर बसेका छन्। बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांकानुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँको क्षति पुगेको छ। भौतिक संरचना, स्थानीयबासीको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुगेको हो। बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुगेको छ।

गाउँपालिकाको कृषि शाखाको तथ्यांकानुसार कागबेनीबासी कृषकको करोड बढीको स्याउ, ओखर र नासपातीलगायत फलफूलका बोटमा क्षति पुगेको छ। बाढीले कृषकको ११ रोपनी तीन कट्ठा बढीमा लगाइएको स्याउलगायत फलफूलमा क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए।

उनका अनुसार करिब १६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ। स्थानीय मिङमर गुरुङको ४५ स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ। बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको बारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए। उनीहरूका ३५ देखि ५५ सम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ।

बाढीले स्याउलगायत कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ। करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए। कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीन कुलोमा बाढीले क्षति गरेको छ। उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलो समेत बाढीले बगाएको छ।

गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौ हाते ट्रयाक्टर समेत बाढीले बगाएको उनी बताउँछन्। बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उपकरण र सिँचाइ कुलो बगाउँदा करिब एक करोड रुपैयाँ बढीको क्षति भएको धामीको भनाइ छ।

उनी भन्छन्, ‘यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो। बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति पुर्‍याएको छ। हामीले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौँ। कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नासपातीको बोट बगाएको छ। सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ।’

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ। पशुचौपाया बगाउँदा करिब ५० लाख रुपैयाँ बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिइन्। बाढीले २३ गोठ, ३२ लुलुगाई, दुई खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताइन्। यसबाट करिब ५० लाख बढीको नोक्सान भएको उनको भनाइ छ। रासस

प्रकाशित: १० भदौ २०८० १२:३५ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast