कांग्रेस सांसद पक्राउ परेपछि एमालेको आपत्ति

हिमाल प्रेस २६ साउन २०८० १३:३६ | Friday, August 11, 2023
कांग्रेस सांसद पक्राउ परेपछि एमालेको आपत्ति

काठमाडौँ– शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि नेकपा एमालेले आपत्ति जनाएको छ। आज शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्मालाई पक्राउ गरेकोप्रति आपत्ति जनाएकी हुन्।

सांसद शर्मालाई बिहीबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आफ्नै निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो। सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनेकै कारणले पक्राउ गरेको आरोप साहले लगाएकी छन्।

साहले भनिन्, ‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो। अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’ उनले सरकारले नै संसद्‌लाई अनिर्णयको बन्दी बनाइरहेको बताइन्।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शर्मासहित अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्। नेकपा एमालेले सय किलो सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिनको माग गरिरहेको छ। उनीहरूमाथि पनि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ। सत्तापक्षले भने सरकारको अन्य अनुसन्धानका संयन्त्रहरूले छानबिन गर्ने र त्यसमा चित्त नबुझे बल्ल अन्य समिति बनाउनेतर्फ सोच्न सकिने बताएको छ।

उनले ललिता निवास जग्गा प्रकरणमा जोडिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छानबिनको दायरामा ल्याउन सकिने अवस्था बनेलगतै विदेश जान दिएकोप्रति पनि आपत्ति जनाइन्।

प्रकाशित: २६ साउन २०८० १३:३६ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast