 
                             
                                            काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित फिल्म ‘ओएमजी २’लाई भारतको सेन्सर बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिएको छ। यो सर्टिफिकेट ती फिल्मलाई दिइन्छ जो अश्लीलताको श्रेणीमा आउँछन्। जसलाई १८ वर्षमाथिकाले मात्र हेर्न सक्छन्। ‘डर्टी पिक्चर’, ‘जिस्म २’लगायत हिन्दी फिल्मले यो सर्टिफिकेट पाएका थिए।
अहिले ‘ए’ सर्टिफिकेट पाएको फिल्मलाई यसअघि निर्माताले धार्मिक रूप दिएर प्रदर्शनमा ल्याउने तयारी गररहेका थिए। ‘आदिपुरुष’ का कारण विवादमा तानिएको सेन्सर बोर्डले यसपटक भने कडाइ गरेको छ। ‘आदिपुरुष’ले भारतीयको धार्मिक आस्थामाथि आहत पु¥याएको भन्दै फिल्मको आलोचना भएको थियो।
त्यसैले यसपालि सेन्सर बोर्ड यो कुरामा सचेत देखियो। ‘ओएमजी २’ मा थुप्रै दृश्य परिवर्तन गरिएका छन्। त्यस्तै अक्षय कुमारको भूमिकामा पनि कैँची चलाइएको छ। यसअघि भगवान् शिवको अवतारका रूपमा देखिने भनिएका उनी अब शिव दूत बन्नेछन्। साथै केही आपत्तिजनक दृश्य र संवादमा पनि सेन्सर बोर्डले कैँची चलाएको छ।
पहिले उज्जैन भनिएको ठाउँलाई अब काल्पनिक ठाउँ भनिने छ। त्यस्तै शिवलिंग, श्रीमद्भागवत गीता, उपनिषद्, अथर्ववेद, द्रौपदी, पाण्डव, कृष्ण, गोपियाँलगायत धार्मिक शब्द फिल्मबाट हटाइएका छन्।
अगस्त ११ मा प्रदर्शनमा आउने भनिएको फिल्ममा अक्षयसँगै यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ। ‘ओएमजी २’ सन् २०१२ मा प्रदर्शनमा आएको ‘ओ माई गड’को दोस्रो भाग हो। पहिलो भागमा पनि अक्षय भगवान् कृष्णको भूमिकामा थिए। उनीसँगै फिल्ममा परेश रावल, मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 