एमालेले भन्यो : सुन तस्करीमा सत्तारुढ दलका नेता जोडिएपछि प्रहरीको सरुवा गरियो

हिमाल प्रेस ३ भदौ २०८० १७:३१ | Sunday, August 20, 2023
एमालेले भन्यो : सुन तस्करीमा सत्तारुढ दलका नेता जोडिएपछि प्रहरीको सरुवा गरियो महेश बर्तौला

काठमाडौँ- नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको आरोप लगाएको छ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू उक्त प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको बताएका हुन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि स्वतन्त्र र निष्पक्ष रुपमा सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे।

सचेतक बर्तौलाले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याए।

‘उच्चस्तरीय छानबिन समितिको माग अझै बढेर गएको छ। तपाईंहरू सबैले देखिरहनुभएको छ। समाचार प्रकाशन, प्रशारण भइराखेको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीलाई एकपछि अर्को सरुवा गरिएको छ’, उनले भने, ‘अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरूतर्फ सोझिन थाल्यो, त्यसपछि सत्ता घटक प्रहरी अधिकारीलाई सरुवा गर्न लाग्यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआआईबी निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न भइरहेको छैन।’

सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको देखिएको पनि उनले बताए।

‘त्यसकारण नेकपा एमालेले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ। हामी यो मागबाट फिर्ता हुँदैनौँ’, उनले भने।

प्रकाशित: ३ भदौ २०८० १७:३१ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast