आमसञ्चार विधेयक ल्याउँदै गण्डकी प्रदेश

हिमाल प्रेस २७ साउन २०८० २०:४१ | Saturday, August 12, 2023
आमसञ्चार विधेयक ल्याउँदै गण्डकी प्रदेश गण्डकी प्रदेशसभा भवन।

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार अर्पण समारोहमा उनले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको जानकारी दिए। ‘मलाई कसैलाई नियमन गर्नु छैन, त्यसैले पत्रकार साथीहरूको केही कुरा छलफलबाट पारित भएपछि अगाडि बढ्छ,’ उनले भने, ‘पत्रकारले स्वच्छ र स्वतन्त्र पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नु अपरिहार्य छ।’

पछिल्लो समय स्वतन्त्रतका नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गर्दै मुख्यमन्त्री पाण्डेले सोसल मिडिया स्वतन्त्रताको नाममा अराजक भएको पनि बताए। पत्रकारिता स्वनियमन हुनुपर्ने भए पनि साेसल मिडियाले नियमन अप्ठ्याराेमा परेकाे उनकाे भनाइ थियाे।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई अर्पण गरिएको हो।

फोनिजको २४औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा वितरण गरिएको उक्त पत्रकारिता पुरस्कारको राशि नगद २५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ।
सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसकेका छन्।

खराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरिएकाे हाे। पाँच लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले प्रत्येक वर्ष एक लाखका दरले थप गर्दै यतिखेर अक्षयकोषमा ९ लाख रुपैयाँ पुगेको छ। गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुईजना पत्रकारलाई वार्षिकरूपमा प्रदान गरिँदै आएको छ। रासस

प्रकाशित: २७ साउन २०८० २०:४१ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast