 
                             
                                            सिन्धुली- आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाई नगरपालिकामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ। नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालले नगर प्रमुख, शिक्षाका पेसागत संघसंस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले साउन २२ गतेदेखि २६ गतेसम्म नगरभित्रका सबै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।
चण्डेश्वरी मावि, डाढीका प्रधानाध्यापक जनार्दन कोइरालाका अनुसार नगरभित्रका निजी स्कुलका धेरै बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढेको छ। सामुदायिक विद्यालयका बालबालिका र शिक्षकहरूमा समेत प्रकोप देखा पर्न थालेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए।
विद्यालय प्रशासनले अभिभावक र विद्यार्थीलाई सजगता अपनाउन र आँखाको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको कोइरालाले जानकारी दिए। जिल्लास्थित स्वास्थ्य संस्थामा आँखाका रोगीको चाप बढेको छ। नगरपालिकाले रोगबारे सचेतता जगाउन सरोकारवालाहरूसँग आग्रह गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 