 
                             
                                            काठमाडाैँ- अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीमा फसेकाहरूको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। रौतहटको परोहा नगरपालिका ४ स्थित लाल बकैया खोलामा फसेका चार जनाको मंगलबार उद्धार गरेको हाे।
सोही नगरपालिका ४ बस्ने ४४ वर्षीय शेख हुसेन, ५९ वर्षीय शेख दाउत र ४५ वर्षीय समसुल शेख घाँस काटी फर्कने क्रममा एक्कासी पानीको बहाव बढेर खोला किनारमा फसेका थिए। सोबारे जानकारी पाएपछि सुरक्षावेश फतुहाबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरी टाेलीले उनीहरूको सकुशल उद्धार गरेको हो।
यसैगरी सर्लाहीको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको बहाव बढेर अड्किएका १ सय ५० जनाको सशस्त्र प्रहरीले मंगलबार नै उद्धार गरेको हाे।
घाँस काट्न गएका उनीहरू एक्कासी पानीको बहाव बढेर अड्किएको भन्ने जानकारी पाएपछि १० नं. गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरी टाेलीले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
त्यसैगरी डडेलधुराको पर्शुराम नगरपालिका ४ पुन्तुरा खोलामा अड्किएका दुई जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सोही ठाउँ बस्ने १८ वर्षीय महेश भाट र १३ वर्षीय तेज भाट खोला तर्ने क्रममा एक्कासी पानीको बहाव बढेर खोलाको बीच भागमा अड्किएका थिए। सोलगत्तै बीओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरूको सकुशल उद्धार गरेको डीएसपी थापाले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 