अर्थमन्त्रीले भने– सरकारले देशभित्रै उत्पादन बढाउने नीति लिएको छ

हिमाल प्रेस ३० साउन २०८० १४:१४ | Tuesday, August 15, 2023
अर्थमन्त्रीले भने– सरकारले देशभित्रै उत्पादन बढाउने नीति लिएको छ

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन्। देशभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारीको गोष्ठीमा बोल्दै मन्त्री महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताएका हुन्।

आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे।

‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो? के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो?’ अर्थमन्त्रीले प्रश्न गरे।

चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने अर्थमन्त्री महतले दाबीसमेत गरेका छन्। गत वर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ।

‘निजी क्षेत्रले अर्थतन्त्र पूर्णरूपमा खराब छ भन्नुहुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ। बिस्तारै ब्याज घटिरहेको छ,’ अर्थमन्त्री महतले भने, ‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन। हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ। यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ।’

अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको विश्वास छ।

प्रकाशित: ३० साउन २०८० १४:१४ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast