फिल्म अनुभूति

परिवर्तनको नयाँ फड्को ‘बगान’

सुस्मिता बजगाईं १२ साउन २०८० ३:३७ | Friday, July 28, 2023
परिवर्तनको नयाँ फड्को ‘बगान’

सरोज खनाल निर्देशित फिल्म ‘बगान’ तेस्रो हप्तामा चलिरहेको छ। फिल्मबाट उनले निर्देशनमा ‘डेब्यु’ गरेका छन्। निर्माण टोलीका अनुसार फिल्मले १० दिनमा करिब ७० लाख रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको छ।

एकल महिलाको पुनर्विवाहको कथावस्तुमा आधारित फिल्ममा करिश्मा मानन्धर र सरोज खनाल मुख्य भूमिकामा छन्। करिश्मा एकल महिला ‘आकांक्षा’को भूमिकामा छिन् भने सरोज ‘विजय’ बनेका छन्। उनीहरूकै प्रेमकथा हो ‘बगान’।

एकल आमाको प्रेमलाई विवाहमा परिणत गर्न छोरी प्राप्ति (प्रमिला कार्की) लागिपरेको फिल्ममा देखाइएको छ। पतिले आत्महत्या गरेपछि एक्लिएकी आकांक्षा छोरी हुर्काउँदै दिन बिताइरहेकी हुन्छिन्। आफूले शिक्षित र आत्मनिर्भर हुनुपर्ने सोच पलाएपछि उनी फेरि पढ्ने योजना बनाउँछिन्। त्यसमा उनलाई परिवारबाटै अवरोध पुर्‍याइन्छ। तर कसैको कुरा नसुनी उनी पढाइलाई निरन्तरता दिन्छिन्। आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहन्छिन्। जसमा उनलाई साथ दिन्छिन्, मिथिला शर्माले। उनले आकांक्षालाई छोरी हुर्काउन सहयोग गर्छिन्।

एकल महिलाले आफ्नो सपना पूरा गर्नतर्फ लाग्नु फिल्मको सकाराल्मक पक्ष हो। समाज र परिवारको कुरा सुनेर उनले पढाइ छोडेकी भए फिल्मले अर्कै मोड लिने थियो। समाजमा दबिनुपर्थ्यो होला। ‘बगान’ले समाज परिवर्तनको संकेत गरेको छ।

पढाइपछि जागिर गर्ने सिलसिलामा आकांक्षाको भेट विजयसँग हुन्छ। आफूजस्तै एकल र उत्पीडित महिलालाई सशक्तीकरण गर्ने काम पाएकी आकांक्षा र विजय एउटै संस्थामा काम गर्छन्। साथी बन्छन्।

विचारसँगै उनीहरूका मन पनि मिल्न थाल्छन्। प्रेम अंकुराउँछ। यो कुरा प्राप्तिले थाहा पाउँछिन्। उनीहरूको प्रेमलाई विवाहमा परिणत गर्नतिर लाग्छिन्। एकल आमाको बिहे गर्न प्राप्तिले केकस्ता परिस्थितिको सामना गर्नुपर्छ भन्ने वरिपरि नै फिल्मको कथा घुमेको छ।

पुरुष सत्तात्मक समाजमा पत्नीको मृत्युको केही समयपछि नै पतिले दोस्रो बिहे गरेको र श्रीमान्को मृत्यु हुँदा श्रीमती बाँचुञ्जेल एकल महिला भएर बसेका उदाहरण थुप्रै छन्। कतिपय एकल महिलाले त समाजको डरले चाहेर पनि आफ्नो खुसी रोज्न सक्दैनन्। आफ्ना सारा सपना पैतालामुनि कुल्चेर हिँड्छन्। आफ्ना चाहनाको हत्या गर्छन्। सन्तानकै मुख हेरेर एकल जीवन बिताउनेहरू धेरै छन्।

पछिल्लो समय नेपाली समाजमा केही परिवर्तन देखिएका छन्। जहाँ सन्तानले नै आफ्नो आमाका बिहे गरिदिएका छन्। ‘बगान’कै कथाजस्तै। समाजले पनि बिस्तारै एकल महिलाको पुनर्विवाहलाई स्वीकार्दै छ।

रविना देशराज, श्वेता खड्का, आरती श्रेष्ठलगायत केही उदाहरणीय महिला हुन्। जो पुनर्विवाह गरेर समाजलाई परिवर्तन गर्ने मियो बनेका छन्। यी तीन महिलाजस्तै आमनेपाली महिलालाई पुनर्विवाहको निर्णय गर्नु त्यति सहज र सम्भव नहोला। तर समाजमा यस्ता परिवर्तन ल्याउन ‘बगान’ कतिपयका लागि प्रेरणाको स्रोत बन्न सक्छ।

यस फिल्मबाट निर्देशनमा हात हालेका सरोजले एकल महिलाको विषयलाई न्याय दिने प्रयास गरेका छन्। फिल्ममा उखानटुक्का प्रयोग भएका छन्। जसबाट नेपाली समाजको चरित्रलाई फिल्ममा उतार्ने प्रयास गरिएको बुझिन्छ। ‘एउटा ढुङ्गालाई मूर्ति बन्न त हतौडाको हजारौँ चोट सहनुपर्छ’ भनेर निर्देशकले जीवनको संघर्षलाई बुझाउन खोजेका छन्। संघर्षबिना जीवन सफल नहुने बताउन चाहेका छन्।

‘पानी पर्दा चुहिने छाता र दुःख पर्दा टाढिने नाता हुनु र नहुनुको कुनै अर्थ हुँदैन।’ ‘परेको दिन साथ नदिनेले मरेको दिन साथ देलान भनेर हामीले पनि आश गरेका छैनौँ’ जस्ता फिल्ममा प्रयोग भएको वाक्यले समाजको यथार्थको चित्रण गरेको छ।

फिल्ममा बालविवाहको प्रसंग पनि उठाइएको छ। ‘ठूलो घरमा छोरी पर्नु भनेको पहिलेको जन्मको फल हो’ भन्दै बालविवाह गरिदिने प्रचलनलाई फिल्मले छोएको छ। तर छोरीले पढ्ने चाहना व्यक्त गर्दा ‘छोरीले पढेर के गर्न सक्छौ?’ भन्ने पुरातन सोचलाई पनि जोडेको छ। यही विषयलाई उठाएर पनि फिल्मको कथावस्तु प्रस्तुत गर्न सकिन्थ्यो होला। कुरा त्यही टुंगिँदा यसले दुई विषयलाई जोडेको अनुभव हुन्छ। यसपछि के भयो भन्ने कौतूहल दर्शकमा हुन्छ तर प्रसंग आउँदैन।

नारी-पुरुष सबैले खुसी भएर बाँच्न पाउनुपर्छ भन्ने धारणासहित यो फिल्म बनेको छ। हरेक महिलाले पुरुषसरह खुसी हुन पाउनुपर्छ भन्ने भावना फिल्मको सकारात्मक पक्ष हो। कथा बगेको छ। उठाएको विषयवस्तुअनुसार फिल्म निकै छोटो लाग्छ। नेपाली समाजलाई परिवर्तनको बाटो देखाउन चाहेको फिल्म एकपटक हेर्दा बेस।

प्रकाशित: १२ साउन २०८० ३:३७ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast