पर्यटन प्रवर्द्धनका लागि ‘कोरा साइक्लिङ च्यालेन्‍ज’ आयाेजना

विवेक विवश रेग्मी १३ साउन २०८० १७:०२
10
SHARES
पर्यटन प्रवर्द्धनका लागि ‘कोरा साइक्लिङ च्यालेन्‍ज’ आयाेजना

इटहरी- शनिबार बिहान इटहरी २० तरहरा चोकमा तीन सयभन्दा बढी साइकलमा मानिसहरू भेला भए। केहीबेरमै स्थानीय झाँकीसमेत प्रस्तुत गरियो। साकेलासँगै लाखे नाच पनि केहीबेर प्रस्तुत गरियो। साइक्लिस्टहरू भेला भएको केहीबेरमै आफ्नो गन्तव्यतर्फ मोडिए। स्थानीयबासीलाई भने केहीबेर रमिताजस्तै भयो।

साइकल सवारमा पूर्वीनेपालदेखि पश्चिमसम्मकै सहभागिता थियो। तरहरा साइक्लिङ क्लबको आयोजनामा भएको ‘कोरा साइक्लिङ च्यालेन्ज’मा पूर्वदेखि पश्चिमको निजगढसम्म हुँदै काठमाडौँदेखि पनि लागि मानिसहरू आएका थिए।

बालबालिकादेखि पाका उमेर समूहका मानिसहरू पनि कोरा साइक्लिङ च्यालेन्जमा सहभागी भए। कोरा च्यालेन्जकै लागि काठमाडौँदेखि आएका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले पर्यावरणको सौन्दर्यतासँगै पर्यटन प्रवर्द्धनमा साइक्लिङ महत्त्वपूर्ण हुने बताए। उनले पनि कोरा च्यालेन्जमा सहभागी भएर २६ किलोमिटरको यात्रा पूरा गरे।

तरहरादेखि तालतलैया हुँदै इटहरीको श्रीकृष्ण प्रणामी मन्दिरदेखि इटहरी परिक्रमा गर्दै बक्लौरी हुँदै पुनः तरहराको तामाङ टोलमा आएपछि कोरा च्यालेन्जको समापन गरिएको थियो।  ‘साइकलमा हिँड्दा प्राकृतिक हावासँगै पर्यावरणलाई नजिकबाट नियाल्न पाइन्छ,’ एसएसपी शर्माले भने, ‘रुख, बिरुवा, चराचुरुङ्गी र स्थानीय ठाउँको पनि प्रवर्द्धन हुने भएकाले पनि साइक्लिङ गर्नु उपयुक्त हो।’

शर्माले यसअघि साइकलकै माध्यमबाट मेची महाकाली यात्रा पूरा गरिसकेका छन्। ‘मलाई २०४६ सालदेखि नै साइकलको सौख थियो, मसँगै मेरो छोराले पनि अहिले साइकल चलाउँदै आएका छन्,’ उनले भने, ‘छुट्टीको समयमा साइकलमै यात्रा गर्दा पनि आनन्द तुल्याउँछ।’

उनले यसअघि कोशी प्रदेश ट्राफिक प्रहरीको प्रमुख भएर रहँदा साइकलबाटै अनुगमन र निरीक्षण गगर्थे। उक्त कुराले चर्चा समेत पाएको थियो। कोरा च्यालेन्जकै लागि बाराको निजगढबाट आएका ७१ वर्षीय नवीन निम्सिनाले घुम्ने योजनासहित साइक्लिङ गर्न आएको बताए।

उनी ६ वर्षयता साइकल चलाउँदै आएका छन्। ‘साइकल चलाऔँ, स्वस्थ रहुँ भन्ने उदेश्यसँगै मित्रता गाँस्नका लागि हामी निजगढबाट राति आइपुगेका हौँ,’ उनले भने, ‘साइकलको चेन गाँसिएजस्तै सम्बन्ध गाँसियोस् र पर्यटनको पनि विकास होस् भन्ने उदेश्यले आएका हौँ।’

उनले साइक्लिङकै माध्यमबाट गाउँका कुना, कन्दरामा पुग्ने, त्यहाँको पर्यावरण र पर्यटनबारे बुझ्ने र रहनसहनमा घुलमिल हुने गरेको बताए। ‘हाम्रो लागि साइकल त फेमली मेम्बरजस्तै भइसक्यो,’ तिम्सिनाले भने।

उनीसँगै निजगढबाट उत्सव रिसाल, प्रशान्त बुढाथोकी, विबोइसिंह मोक्तान, अजय कोर साइक्लिङका लागि आएका छन्। यहाँ आएको समयमा धरान, भेडेटार पनि साइकलमै पुग्ने योजना उनीहरूको छ।

युवाहरू मात्रै नभई बालबालिकाहरूमा पनि पछिल्लो समय साइक्लिङको रुचि बढ्दै गएको छ। धरान ११ का ६ वर्षीय सङ्कीटनजंग केसीले पनि साइक्लिङ गरे। उनी सानै उमेर भए पनि आफ्नो आमासँग साइक्लिङमा आएका थिए। ‘साइकल कुदाउन रहर लाग्ने भएरै म आज आएको हुँ,’ उनले भने।

तरहरा साइक्लिङ क्लबका अध्यक्ष शिवु रुम्दाली राईले अघिल्लो वर्षदेखि कोरा च्यालेन्ज आयोजना गर्दै आएको बताए। उनले सुनसरी, मोरङ, बारादेखि काठमाडौँसम्मबाट च्यालेन्जमा सहभागी हुन आएकाले खुसी लागेको बताए। ‘हामीले पहिलो संस्करणमा १३ किलोमिटर यात्रा गरेका थियौँ, यसवर्ष २६ किलोमिटर यात्रा पूरा गरेका छौँ,’ राई भन्छन्, ‘इटहरी क्षेत्रमा भएको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार गर्ने र त्यसको प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि यो किसिमको साइक्लिङ गराउँदै आएका छौँ।

उनका अनुसार च्यालेन्जमा सहभागी हुनेहरूले दुई सय रुपैयाँ तिरेर रजिष्ट्रेसन फर्म भर्नुपर्ने हुन्छ। जसबाट उठेको पैसाले गत वर्ष विपन्नलाई सहयोग गरिएको उनले बताए। ‘यस वर्ष चाँही हामीले शिक्षा क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘पर्यावरणको सौन्दर्यता र पर्यटन प्रवद्र्वनका निम्ति कोरा साइक्लिङ च्यालेन्ज गरेका हौँ।’

उनका अनुसार साइक्लिस्टहरूको समूह एकजुट भएका छन्। सोही समूहभित्रबाट साइक्लिङमा सहभागी छन्। उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेलगायत स्थानीय बुद्विजीवीहरूको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =