नेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने ? यही पृष्ठभूमिको पछिल्लो दृष्टान्त संविधानसभा निर्वाचनलाई नै लिन सकिन्छ।
नेपालमा पहिलोपटक ०६४ मा भएको संविधानसभाको निर्वाचनमा बढीभन्दा बढी नागरिकलाई मतदानका लागि तयार पार्ने काम सडक नाटकले नै गरेको हो।
जनताले पाउने संविधान कस्तो हुनुपर्छ र सबै नागरिक यो महानिर्वाचनमा किन सहभागी हुनुपर्छ भन्ने विषमा प्रस्तुत गरिएको सडक नाटकले नेपालका गाउँ तथा कुना कन्दरासम्म सकारात्मक सन्देश पुर्याएको थियो।
यसकारण धेरै मत खसेको र सबै नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न मतदान केन्द्रसम्म पुगेका थिए भनेर यसको प्रारम्भिक अनुसन्धानमा संलग्नहरूको प्रतिक्रिया हामीले सुनेका हौं।
नेपाली नाट्य क्षेत्रका एक बादशाह अशेष मल्लले लेख्नुभएका नाटक उनकै निर्देशनबाट देशव्यापी प्रदर्शन गरिएको थियो। मलाई लाग्छ संसारका अरू देशमा खोज्दा पनि यस्तो उदाहरण सायदै कतै भेटिन्छ होला कि एउटै सन्देशको नाटक एकै समयमा देशका सबै वडा वडामा प्रदर्शन गरिएको थियो। नेपालमा नाट्य क्षेत्रकै इतिहासमा यो एक ऐतिहासिक क्षण हो।
निर्वाचन आयोगले सर्वनाम, आरोहण र कुसुमलाई नाटकबाट प्रचार गर्न गरेको आग्रहलाई हामीले मान्यौं र सर्वनामको सहयोगमा यसलाई देशव्यापी बनायौं। जसका कारण देशव्यापी रूपमा संविधानसभाको आवश्यकता र महत्त्वको सन्देश पुग्यो।
यस निर्वाचनमा कसरी चुनाव प्रचार गर्ने, कसरी मतदान गर्ने, मतदान किन गर्ने, संविधान सभापछि कसरी नागरिकको अधिकार स्थापित हुन्छ भन्ने कैयौं प्रश्नका जवाफ र सकारात्मक सन्देशहरू समेटिएको थियो।
मतपत्र बोकेर घरघरमा गएको, मतदान गर्न सिकाएको र कसरी मतदान गर्ने र नागरिकले के पाउँछन् भन्ने जानकारीहरू सडक नटकमा समेटिएकाले नागरिकको व्यापक सहभागिता भयो।
त्यस समय निर्वाचन आयोगले नै सडक नाटकको महत्त्वलाई बुझेर यो अनुरोध गरेको थियो र यसको प्रभाव पनि देखियो। त्यो पहिलो संविधानसभाले संविधान लेख्न सकेन र पछि आएर अर्को निर्वाचन पनि गर्नुपर्यो।
त्यतिबेला भने अशेष मल्लले पुनःनाटक लिएर जान मान्नुभएन। पहिलो संविधानसभामा जनतामा जगाइएका आशाहरू मरिसकेको थियो र र जनतामा राजनीतिक अस्थिरताको निराशा पलाएका खबरहरू सञ्चारमाध्यमले नै सम्प्रेषण गरिरहेका थिए।
कुनै पनि देशको सामाजिक रूपान्तरणका अवयवहरू धेरै हुन्छन् र तिनले त्यस देशमा नागरिकका हकअधिकारका क्षेत्रमा आवाज बुलन्द गरेका र गर्न सिकाएका हुन्छन्।
नेपालमा पनि जहानियाँ राणा शासनदेखि पञ्चायत हुँदै बहुदलीय व्यवस्था र वर्तमान गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा धेरै राजनीतिक उतारचढाव आए। ती सबै जनताले देखे र भोगे।
उनीहरूका आँखैअगाडि धेरै परिवर्तन पनि भए। तर कसरी ? पत्रकारिता, साहित्य, चलचित्र, राजनीतिकर्म आदि क्षेत्र हुन् जसले मुलुकको रूपान्तरणमा भूमिका निर्वाह गरेका छन् र ती सबैभन्दा जीवन्त र प्रभावकारी माध्यम नाटक नै थियो।
अहिले पनि नागरिकमा चेतना जागृत गरी देशमा आमूल परिवर्तन ल्याउन नाटकको सहयोग सार्थक हुनसक्छ, अहिले पनि नाटकको प्रभाव विगतकोभन्दा घटेको छैन।
प्रजातन्त्रका लागि नाटक
०३६ को जनमत संग्रह पहिले तत्कालीन राजाले संविधान संशोधन गरे र नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्यो। यो कुरा जनतालाई थाहा त थियो तर बोल्ने कसरी ? राजनीतिक व्यवस्था पञ्चायती अनि राजनीतिह दलमाथि प्रतिबन्ध नै थियो।
जनताले आफ्ना भावना र मनको कुरा बोल्ने कसरी ? त्यतिबेला नागरिकसम्म पुग्ने अश्त्र अर्थात् माध्यम थिए नाटक, साहित्य, पत्रकारिता, चलचित्र अनि हास्यब्यंग्य।
त्यतिबेला पनि नाटकले जनता जगाउने काम गरेको छ। ०३३ मा तुवाँलोले ढाकेको बस्ती भन्ने नाटकले राजधानी काठमाडौँमै तहल्का मच्चाएको थियो। नागरिकले रंगमञ्चमा आफ्ना कथा हेर्न खोजेका रहेछन्।
किनभने ती कथालाई रंगमञ्चमा देखाउँदा आफ्नै जीवनशैली र कथा व्यथा पाएको अनुभूति उनीहरूले गरे। तर एकेडेमीमा दरबारका कुराहरू मात्रै देखाइन्थे, ठूलाबडाका कथाहरू मात्र सुनाइन्थे। मोफसलबाट आए कलाकर्मीहरू। जस्तो दार्जिलिङबाट मनबहादुर मुखिया आए देउराली नाटक लिएर।
उता धनकुटाबाट अशेष मल्ल आए समूह लिएर। देउरालीमा हाम्रै गाउँघरमा भएका कथा पनि रंगमञ्चमा हेर्न पाइन्छ भनेर आए दर्शक। त्यसबेला त्यो नाटक हेर्न कमलादी मान्दिरमा बिहान ४ बजेदेखि लाइन बसेर टिकट किनेको मलाई सम्झाना छ।
तर केन्द्रमा नाटक देखाउने र हेर्ने बढी थिए तर गाउँमा थिएनन्। पछि सडक नाटकको अवधारणाका साथ आएका अशेष मल्लले सडक नाटकबाटै सडक तताएको देखिएको थियो।
०३६ को जनमत संग्रहकै सेरोफेरोमा ‘हामी वसन्त खोजिरहेका छौं’ सडक नाटक प्रदर्शन भयो। अशेष मल्लको यस नाटकबाट मानिसले मनोरञ्जन लिन सकिन्छ भन्ने दर्शकले बुझे। जनमत संग्रहमा यतिधेरै मत बहुदलवादीहरूको आउन तथा पञ्चायतले झिनो मतले मात्र जित्नमा यी नाटककै योगदान छ भन्ने मेरो बुझाइ छ।
०३६ को जनमत संग्रह घोषणा भएपछि सडक कविता क्रान्ति गर्नुपछ भनेर मल्ललगायत अरू पनि अए। यो नाटकमा नागरिकका लागि प्रशस्त मनोरञ्जन थियो अनि जनचेतनामूलक सन्देशहरू पनि।
यसले नागरिकलाई आफ्ना अधिकारहरू लिनका लागि उनीहरूलाई जागरुक गराउने प्रयत्न गरेको थियो। त्यो सन्देश स्पष्टै बुझिन्थ्यो। त्यस्तै सडक कविता क्रान्तिका अभियानबाट पनि गाउँ गाउँमा पुगिएको थियो।
मलाई सम्झना छ एकपटक धुनकुटामा त ‘गो ब्याक अशेष’ भनेर नारा नै लगाएका थिए। यस्तै त्यसबेलाको प्रहरी प्रशासनले कवि कलाकारहरूका पछिपछि गुप्तचर नै लगाएका थिए। मलाई लाग्छ ०४६ सालको जनआन्दोलनलाई सडक कविताले नै प्रोत्साहन गरेको हो।
सडक कविता तथा सडक नाटकका माध्यमबाट नागरिकले आफ्ना अधिकार र प्रजातन्त्रबारे धेरै कुरा बुझे। गाउँमा पुगेको सन्देशले धेरै मानिसलाई नागरिक अधिकार र प्रजातन्त्रबारे बुझ्न सहज पनि बनायो।
सडक नाटकहरू पुलिस क्लबमा, बन्द रंगमञ्चमा, सडकमा, एकेडेमीमा देखाइयो र सबैले मन पराए। जनमत संग्रहपछि ०३८ पछि सर्वनाम नाट्य समूह खुल्यो र छोटै समयमा निकै चर्चामा आयो।
यसरी नेपालमा नेपाली नागरिकको चेतनाको स्तर बृद्धि भएको नाटककै कारणबाट हो भन्ने मलाई लाग्दछ। सडक नाटकले नागरिकस्तरको अधिकार प्राप्तिका लागि ठूलै सहयोग गरेको छ।
०४६ मा नेपाली नागरिक तथा विभिन्न क्षेत्र र वर्गलाई जनआन्दोलनका लागि तयार पार्ने काममा अरू अवयबहरूका साथै नाटकको पनि योगदान छ। त्यतिबेला त नाटक हेर्न नागरिक सडकमा जाने होइन कि नाटक नागरिकमाझ जानुपर्छ भन्ने उदेश्यले सडक नाटक नागरिक माझमा पुग्दा जनता जगाउन सघाएको छ।
उबेला हामीले भन्थ्यौं प्रहरीको बन्दुकभन्दा पनि बलियो सडक नाटक बनेको छ, जसले बन्दुककोभन्दा शक्तिशाली काम गरेको छ। नागरिक बन्दुकको अघि करले बोल्थे या बोल्दैनथे।
तर नाटकले जनताको मन जितेको थियो र नागरिक स्वतन्त्रताका लागि भित्रैदेखि तयार पारेको थियो। यति प्रभावकारी विधालाई अहिलेका सरकारहरूले कसरी प्रयोग गर्ने ? यो उनीहरूले नै बुझ्नुपर्ने कुरा हो।
के हो नाटक ?
नाटक जीवन हो। जीवनलाई हेर्ने एउटा जीवन्त ऐना नाटक हो। शब्द कुन प्रयोग गर्छौं, कस्तो खालको शब्दबाट नाटकलाई हामी प्रस्ट्याउने प्रयत्न गर्छौं त्यसमा भर पर्छ, तर नाटक भनेको मानवीय जीवनलाई नै जीवन्तता प्रदान गर्ने एउटा औजार हो भन्छु म।
लेखकले समाजलाई जुन सन्देश तथा मनोरञ्जन दिने ध्येयले नाटक लेखेको हुन्छ त्यसलाई जस्ताको जस्तै उतार्न सक्यौं भनेमात्र त्यसले जीवन्तता दिन्छ। राम्रो अभिनयले पनि नाटकमा त्यसको जीवन भर्दछ। खास त दर्शकले अभिनय नै हेर्ने हो।
जसले नाटकको कथा बुझेको पढेको छैन उसले पनि अभिनय हेरेर त्यसैबाट सबै सन्देश ग्रहण गर्ने गर्दछ। त्यसैले नाटकलाई अभिनयले जीवन्तता दिन्छ।
नाटक दृष्य विधा हो। लेखिन्छ र मञ्चमा जानुपर्छ। मञ्चमा जाने मापन टुलहरू लेखकले दिएको हुन्छ। नाटक र जीवनको यस कोणबाट नाटकहरू विश्लेषण भएका थिएनन्। त्यही हिसाबले मैले पनि मेरो विद्यावारिधिमा रंगमञ्च रोजेको हुँ। मेरो अध्ययनले पनि निर्देशकको परिकल्पनामा भरपर्ने कुरा हो भन्ने बुझ्यो।
मलाई पनि सुरुमा बालकृष्ण समका नाटकको रंग शिल्प के सम्भव छ भन्ने लाग्दथ्यो। बालकृष्ण समका नाटक रंगमञ्चीय दृष्टिले असम्भव छैनन् कि अर्थात् मञ्चन योग्य छैनन् कि भन्ने लागेको थियो।
उनका नाटकको मञ्चनमा मलाई कताकता अपूर्ण पो भयो कि भन्ने लागिरहेको थियो। हामीलाई त्यही दृष्टिले पढाइएको पनि थियो। पछि प्रचण्ड मल्ल र हरिहर शर्माले हामी यहाँ नाटक मञ्चन गरिरहेका छौं, तर तपाईंले किन यसो भनेको भनी प्रश्न गरिन्।
मेरो प्रश्नपछि उनहरूले समको कुन चाहिँ नाटक रंगमञ्चीय दृष्टिमा असम्भव छ र भनेपछि विस्तारै म पनि ‘कन्भिन्स्’ भएँ। बालकृष्ण समका नाटकमा लामालामा संवाद भएका र लयबद्ध भएका संवादको मञ्चन गाह्रो जस्तो लागेको थियो। त्यसैले मैले मेरो अध्ययन पनि समका नाटकको रंगशिल्प शीर्षक छानेको हुँ।
कस्ता छन् अहिलेका नाटक ?
अहिले पनि देशमा विभिन्न संघसंस्थाको सहयोगमा सडक नाटक प्रस्तुत भइरहेका छन्। पछिल्लो समयमा सडक नाटकमा अहिले कलात्मक सौन्दर्यका नारा बढी तर नाटकीय शिल्प कम गरिएका छन् जस्तो मलाई लाग्छ।
अहिले पनि नाटकमा अत्यन्त ऊर्जाशील रंगकर्मीहरू आएका छन्। सरकारकातर्फबाट भने खासै सहयोग भएको देखिँदैन। हो, अहिलेका नाटक नाटक जस्तै देखिएका छन्।
सबैमा आ-आफ्नै रुचि हुन्छन्, तर कलात्मक शैलीमा हाम्रा कुरा, हाम्रो अवस्था, हाम्रो व्यवस्था, हाम्रो संस्कार, हामीलाई चिनाउनुपर्छ। हामी कसरी बाँचेका छौं, हाम्रो अग्रगामी चिन्तन के छ, त्यो विषयलाई जनतासमक्ष देखाउनु राम्रो हुन्छ।
जस्तो कि अहिले त समाजमा विषय धेरै छन् अनि जनतामा पुर्याउनुपर्ने काम र सन्देश पनि धेरै छन्। मलका कुरा, बिरुवा रोप्ने कुरा, राजनीति र यसका विकृति एवं परिवर्तनका कुरा, रोगव्याधिका कुरा, नारी अधिकारका कुरा, कुप्रथा हटाउनुपर्ने कुरा आदिका प्रचारप्रसार गर्नु परे सडक नाटकबाट गर्नुपर्यो भनेर विभिन्न मन्त्रालयले बजेट विनियोजन नै गर्न सक्छ। यसो हुँदा गाउँगाउँमा भाइ बहिनीहरूले संस्था नै खोलेर सडक नाटककै माध्यमबाट प्रचारप्रसार गर्न सुरु गरिरहेकाले उनीहरूलाई पनि साथमा लिन सकिन्छ।
हाम्रै नाटक रुचाउँछन् विदेशी
विदेशमा लैजाँदा नेपाली नाटक विश्व रंगमञ्चमा कथाका दृष्टिले सबैभन्दा बढी हाम्रै नाटक रुचाइन्छ। हाम्रा नाटकमा धेरै कथा छन्। अरूका नाटकमा कमेडी बढी छन्। हाम्रा नाटकहरूमा यथार्थ बढी छ जसले नागरिकका जीवनशैली र उनीहरूका वास्तविक भोगाइ छन्।
जस्तो कि केही समयअघि हामीले बैंलोरमा नेपाली नाटक देखाउँदा त्यहाँ भारतीय मात्र नभएर धेरै विदेशी दर्शक थिए। उनीहरू सिनेमा हेरेभन्दा बढी मानिसको जीवनका वास्तविक भोगाइ नै देखियो भनेर निकै प्रशंसा गरेका थिए।
हामीले विदेशमा हाम्रा नाटकहरूको तुलना नै अलग्गै हुन्छ। सबैले नेपाली कथालाई आफ्नै कथामा ढालेर हेर्न र बुझ्न सकिने कला भेर दर्शक भाभुक हुन्छन्। हाम्रा नाटकमा गाउँ र सहर दुवै छ अनि कला र वास्तविकता समेटिएको हुन्छ।
हाम्रो देशको अद्वितीय कला संस्कृति, भेषभूषा, जातीय भाषिक विविधता र हाम्रो अलौकिक भौगोलिक बनावट पनि हुनसक्छ हाम्रा नाटकले विश्वका दर्शकले आफ्नै कथा मानेर हेर्न सक्ने बताउने गरेका छन्।
चलचित्र र नाटकमा फरक छ। हुनत नाटकभन्दा बढी मास मिडियामा फिल्म पुग्ला। तर नाटक त्योभन्दा पनि बढी जीवन्त हुन्छ। तुलनाको हिसाबले कुरा गर्दा नाटक जीवन्त हो।
फिल्मलाई बनाइएका कथा मानिन्छ तर यसले पनि समाजमा सन्देश त उस्तै नै दिन्छ। तर नाटकबाट मानिसहरू बढी प्रभावित र भावुक हुन्छन्। यसको मापन गर्दा पनि त्यो अवस्था भेटिन्छ।
नाटकको अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने समालोचक प्रा.डा. सावित्री कक्षपतिसँग नेपाली नाटक विधामा केन्द्रित रहेर गरिएको कुराकानी। राससको सहयोगमा