काठमाडौँ विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच सहकार्य

हिमाल प्रेस १० साउन २०८० १३:४९
14
SHARES
काठमाडौँ विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच सहकार्य

काठमाडौँ-  काठमाडौँ विश्वविद्यालय र मधेश विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्तरूपमा अध्यापन गराउन सहमति गरेका छन्।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेश विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा संघीय शासन तथा जनप्रशासन विषय संयुक्त रूपमा अध्यापन गराइने छ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा थापाले मधेश प्रदेश सरकारद्वारा गत वर्ष स्थापित मधेश विश्वविद्यालयसँगको सहकार्यले मधेश प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मधेश विश्वविद्यालयका उपकुलपति डा शाक्यले स्थापनाको पहिलो वर्षमै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यले आगामी दिनमा मधेश विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थप प्रेरित गर्ने बताए।

काठमाडौँ विश्वविद्यालयले यस अघि गण्डकी र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग पनि संयुक्त रूपमा अध्यापनका लागि सहकार्य गरिसकेको छ। काठमाडौँ विश्वविद्यालय अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालय, अमेरिकाको जर्ज मेसन विश्वविद्यालय र भारतको आइआइटी मद्राससँग समेत सहकार्य गरिसकेको छ।

सम्झौताअनुसार विद्यार्थीले स्नातकोत्तर तहमा तीन सेमेष्टर भर्ना भएको विश्वविद्यालय र र बाँकी एक सेमेष्टर सम्बन्धित विश्वविद्यालयमा अध्ययन गर्न सक्नेछन्।

यसका लागि दुवै विश्वविद्यालयले पाठ्यक्रम निर्माणदेखि अन्य विषय आपसी सहमतिमा तय गर्ने सहमति गरेका छन्। यसैगरी विद्यार्थीको प्रमाणपत्रमा दुवै विश्वविद्यालयको छाप रहने र विद्यार्थीले दुवै विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुपर्नेछ।

यसबाट विद्यार्थीले विश्वस्तरीय शिक्षा प्राप्त गर्नाका साथै कम शुल्कमा विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पाउने काठमाडौँ विश्वविद्यालयको भनाइ छ।

प्रकाशित: १० साउन २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast