गाउँ फर्काउने माध्यम बन्याे पुम्दीकोटको मूर्ति

हिमाल प्रेस ९ साउन २०८० १८:१७
14
SHARES
गाउँ फर्काउने माध्यम बन्याे पुम्दीकोटको मूर्ति

गण्डकी- देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका-२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन्।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई गाउँ फर्काउने बरदान सावित भएको छ। पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रूपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन्।

पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि बढेको छ। पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए। ‘जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्, ‘उनले भने, ‘हालसम्मका संरचना निर्माणमा लगभग २६ करोड रुपैयाँ लगानी भइसकेको छ।’

समितिले मूर्तिसहित संरचना निर्माणका लागि ४० करोड रुपैयाँ लागत अनुमानसहितको गुरुयोजना तयार गरेको थियो। निर्माण कार्यका लागि समिति स्वयंम‍ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालकाे भनाइ छ।

पछिल्लाे समय देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन्। यहाँ बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रूपमा पुम्दीकोट स्थापित हुने उनको विश्वास छ।

पछिल्लो समय पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताए। ‘विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,’ उनले भने, ‘पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ।’ पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा ६ करोड १८ लाख रुपैयाँसहित दानस्वरूप २० रोपनी जग्गा प्राप्त भएको थियो। २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब तीन करोड रुपैयाँ सहयोग प्राप्त भएको थियो। निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिए।

महादेवमूर्तिसहितका पूर्वाधारले यो क्षेत्रकाे धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएकोे मूल पुजारी भरत पौडेलले बताए। प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको बताउँदै उनले महत्त्वपूर्ण तीथि र पर्वमा भीडभाड हुने गरेको जानकारी गराए।

समितिका सचिव नरहरि बरालका अनुसार मूर्ति स्थापनायता दर्शनार्थीको आगमनसँगै दान सहयोग पनि निरन्तर उठ्ने गरेको छ। भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा पाँच करोड रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए।

हिजो सोमबार झण्डै १० हजारको संख्यामा दर्शनार्थी पुम्दीकोट आइपुगेका थिए। समितिले बृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाइरहेकाे छ। मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको छ। विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत रहेको छ। यी दुई थान करिब चार सय मिटरको दूरीमा रहेको छ। त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ।

शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिँदै सदस्य बरालले त्यसका लागि करिब पाँच करोड रुपैयाँ लाग्ने देखिएको बताए। मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिंग आदि स्थापना भइसकेको जानकारी दिँदै उनले परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको बताए। रासस

प्रकाशित: ९ साउन २०८० १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =