घरबाटै बिक्री हुन्छ रैथाने बाली

रमा केसी १० साउन २०८० १०:०८
96
SHARES
घरबाटै बिक्री हुन्छ रैथाने बाली सुर्खेतको वीरेन्द्रनगर–६ सदरलाइनमा वसन्ती बुढाले सञ्चालन गरेको सुर्खेत कोसेलीगृह। तस्बिर : रमा केसी

सुर्खेत– वसन्ती बुढा सुर्खेतमा रहेको ‘कोसेलीगृह’ की सञ्चालिका हुन्। वीरेन्द्रनगर-४ की उनले २०७२ फागुन ८ मा ‘कोसेलीगृह’ खोलेकी हुन्। घरेलु तथा साना उद्योगसँग समन्वय गरी सञ्चालनमा ल्याइएको ‘कोसेलीगृह’ मा कर्णालीमा उत्पादन गरेका सामग्री पाइन्छन्।

गृहमा ‘मायाको चिनो’ का रूपमा पुराना तस्बिर, भादगाउँले टोपी, जुत्तासँगै कर्णालीका रैथाने बालीका उत्पादन पाउन सकिन्छ। त्यतिमात्र नभई उनले ‘अर्गानिक’ खाद्यवस्तु तथा फलफूल नेपालका विभिन्न ठाउँमा पठाउने गरेकी छन्।

आफूले कर्णालीका हिमाली भेगमा उत्पादन हुने दुर्लभ खाद्यवस्तुको विश्व बजारीकरण गर्दै आएको उनी बताउँछिन्। ‘कोसेलीगृह’ मा कोदो र गहुँको पिठो, जौको च्याँख्ला, मासको दाललगायत राखिएका छन्। त्यस्तै जुम्ली मार्सी चामल, फापरलगायत उत्पादनलाई आकर्षक प्याकेजिङ गरी काठमाडौँ, पोखरा र चितवन पठाउने गर्छिन्।

रैथाने बालीका उत्पादनमात्र बेचेर ‘कोसेलीगृह’ ले स्थापनाको पहिलो वर्षमै एक करोड रुपैयाँ कारोबार गरेको वसन्ती बताउँछिन्। ‘कोरोनाकालपछि भने आम्दानी घटेको छ’, उनी भन्छिन्, ‘वार्षिक ४० देखि ५० लाख रुपैयाँको कारोबार हुन्छ।’

यहाँका रैथाने बाली भारत, बंगलादेश र जापानमा व्यावसायिक रूपमा निर्यात हुने गर्छन्। त्यस्तै बेलायत, अमेरिकालगायत देशमा कोसेलीका रूपमा पुग्ने गरेको वसन्ती बताउँछिन्। उत्पादन स्थानीय व्यापारी र संकलनकर्ताहरू किसानको घरदैलोमा पुगेर संकलन गर्ने गर्छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार डोल्पामा तीन, मुगुमा चार, हुम्लामा छ, जुम्लामा २४, दैलेखमा एक, सुर्खेतमा १४, रुकुम पश्चिममा आठ, जाजरकोटमा दुई, सल्यानमा तीन बिक्री केन्द्र एवं कोसेलीघर छन्।

सुर्खेतको भेरीगगंगा नगरपालिका–५ मा अर्गानिक माउन्टेन फ्लेवर/द अर्गानिक भ्यालीमा ‘मूल्यवान’ लोगो अंकित उत्पादन बजारमा आएका छन्। यसमा जुम्ली मार्सी चामल, चिनो कागुनो, फापरको पिठो, जौको च्याँख्ला, जुम्ली सिमी छन्।

‘कर्णालीमा केही यस्ता खाद्यान्न बाली छन्, जसको खपत कर्णालीभित्र भन्दा पनि बाहिर बढी हुन्छ,’ प्रवक्ता कठायत भन्छन्, ‘बजारीकरण र उच्च मूल्यका हिसाबले किसानका लागि यो महत्त्वपूर्ण हो। मूल्य नपाएर किसान चिन्तित हुनुपर्ने अवस्था छैन। उत्पादनमात्रै गर्न सक्नुपर्‍यो। संकलनकर्ता र व्यापारी किसानको घरमै पुग्छन्।’

रैथाने बालीको उपभोग सहरी क्षेत्रमा विशेष परिकारका रूपमा हुँदा बजारमा तिनको माग बढिरहेको प्रवक्ता कठायत बताउँछन्।

कर्णालीमा आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ४ सय ११ टन रैथाने सिमी उत्पादन भएकोमा झन्डै ६० प्रतिशत कर्णालीबाहिर खपत भएको तथ्यांक छ। सोही वर्ष हिमाली जिल्लाबाट ७ हजार ७ सय टन मार्सी चामल कर्णालीबाहिर गयो।

त्यस्तै १४ सय १५ टन चिनो, ४ सय ४३ टन कागुनो र १ हजार ७ सय ४७ टन फापर उत्पादन भएको मन्त्रालयले जनाएको छ। ‘कागुनो, चिनो र फापर उत्पादनको ८० प्रतिशत राष्ट्रिय बजारमै गएको छ,’ कठायत भन्छन्, ‘स्थानीय बजारमा २० प्रतिशतमात्रै खपत हुन्छ। बाहिर गएकोमध्ये १० प्रतिशत त विदेशमा गएको छ।’

कर्णाली सरकारका मुख्य सूचीकृत नौ रैथाने बाली चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ, स्थानीय सिमी हुन्। चनो विश्वकै पुरानो खेती बालीमध्ये एक हो। कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, मुगु, जाजरकोटमा यो खेती गरिन्छ। उवा पनि निकै पुरानो बालीमा पर्छ। यसको घरेलु मदिरा, सातु बनाएर खाने चलन छ।

फापर कर्णालीको उच्च हिमाली क्षेत्रको मुख्य बाली हो। फापरको पिठोलाई गहुँ, जौ र कोदोको पिठोसँग मिसाएर ढिँडो वा रोटी बनाएर खाने गरिन्छ।

यसको पिठोबाट फुलौरा, पाउरोटी पनि बनाइन्छ। जुम्ली मार्सी संसारमै सबैभन्दा धेरै उचाइमा उत्पादन हुने धानबाली हो। यो दुर्लभ प्रजातिको स्थानीय जातको धान हो। रोगको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्त्वका कारण जुम्ली मार्सी धानको महत्त्व अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ।

मार्सीबाट भातका अतिरिक्त खीर बनाएर खान सकिन्छ। हाल यसको बजार राम्रो छ। मार्सीलाई कोसेलीका रूपमा प्रयोग गर्ने चलन बढेको छ। कर्णालीको पहाडी हिमाली जिल्लाको खाद्य सुरक्षामा कोदोको महत्त्वपूर्ण योगदान छ। जुम्ला, मुगु, डोल्पा, हुम्ला, कालीकोट, दैलेख, जाजरकोट, सल्यान रुकुम पश्चिममा खेती बढी छ। कर्णालीमा सेतो सिमी, डल्लो सिमी, कालो सिमी, रातो सिमीको खेती गरिने गरेको प्रवक्ता कठायत बताउँछन्।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्रबहादुर रोकाय आ.व. २०७८/७९ मा कर्णालीका १० जिल्लामा चैत धान २९ मेट्रिक टन, गहुँ १६.७६ मेट्रिक टन, मकै २२ मेट्रिक टन, कोदो १.४ मेट्रिक टन, फापर ०.९मेट्रिक टन र जौ १.० मेट्रिक्टन, उवा ०.५ मेट्रिक टन, चिनो ०.४ मेट्रिक टन, कागुनो ०.६ मेट्रिक टन उत्पादन भएको बताउँछन्।

कोदोको सबैभन्दा बढी उत्पादन सुर्खेत, दैलेख, फापर डोल्पा, हुम्ला र मुगुमा तथा जौ जुम्लामा उत्पादन भएको छ। फापरको भने सुर्खेत र रुकुम पश्चिममा उत्पादन शून्य छ।
रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेतमा चिनो र कागुनो उत्पादन शून्य छ। लट्टे सुर्खेत, दैलेख, सल्यान, हुम्ला र डोल्पामा शून्य छ। लट्टे जुम्लामा बढी उत्पादन हुने गरेको छ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्रबहादुर रोकाय। तस्बिर : रमा केसी

चिनो, कागुनोको उत्पादन हिमाली जिल्लामा बढी छ। रैथाने सिमी ११ हजार १ सय ७४ मेट्रिक टन, मार्सी धान ९ हजार ७ सय १४ र उवा १ हजार ८ सय १८ मेट्रिक टन उत्पादन भएको छ। रैथाने सिमी र मार्सी धानको जुम्ला र कालीकोटमा उत्पादन राम्रो छ। मार्सी धान र उवा भने कर्णालीका रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा उत्पादन शून्य छ।

उवाको उत्पादन डोल्पा, हुम्ला र मुगुमा उत्पादन राम्रो छ। कर्णालीमा कोदो १८ हजार ४ सय ७३ हेक्टर, फापर २ हजार २९, जौ ९ हजार २ सय ८९, चिनो १ हजार ७ सय ८८, कागुनो १ हजार १ सय १७, लट्टे (मार्से) २४, स्थानीय सिमी ६ हजार ६ सय ५२, जुम्ली मार्सी धान ४ हजार ६ सय १५ र उवा १ हजार ८ सय १४ हेक्टर खेती हुने गरेको निर्देशक रोकाय बताउँछन्।

पछिल्लो समय बजारको समस्या हट्दै गएपछि किसान रैथाने बालीतर्फ आकर्षित भएका छन्। रैथाने बाली प्रवर्धनका लागि किसानलाई तालिम, मेसिन अनुदान, लेबलिङ र प्याकेजिङ लगायतमा कृषि विकास निर्देशनालयले सहयोग गर्दै आएको छ। ‘रैथाने बालीका उपजको मूल्य उच्च छ, मार्केटिङको पनि समस्या छैन,’ रोकाय भन्छन्, ‘जति उत्पादन गर्न सक्यो त्यति किसानलाई फाइदा छ। खाद्य सुरक्षा र पोषणका दृष्टिले रैथाने बालीमा आकर्षण छ।’

प्रदेश सरकारले ‘मूल्यवान’ लोगो अंकित प्याकेजिङको व्यवस्था गरेपछि यस्ता उत्पादनले झन् राम्रो मूल्य पाएका छन्। साथै प्रदेश सरकारले बजारीकरण, कोसेलीघर निर्माणलगायत कार्यक्रमलाई जोड दिएको छ। ‘जसका लागि ‘मूल्यवान मार्ग : सबैका लागि, सधैंँका लागि’ भन्ने नारा अघि सारिएको छ। मन्त्रालयले कृषि विकास रणनीति र प्रांगारिक नीतिमा पनि यो कार्यक्रमलाई समावेश गरेको छ।

प्रकाशित: १० साउन २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast