कैलाली– थारू समुदायका अगुवा अहिले धान खेतीमा रोगब्याधि नलागोस् भनी हरेरी पूजा गर्नमा व्यस्त छन्।
रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांस थारू बस्तीमा हरेरी पूजा गर्न थालिएको छ।
पूजामा थारू किसानले गाउँको साझा देउता भुइया भवानीको पूजा गर्ने गर्छन्। हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिक रूपमा गरिन्छ।
विशेष गरी थारू गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेको टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारूले बताए।
‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउ न परम्परागतदेखि आधुनिक प्रविधिको प्रयोग गर्ने गर्छौं,’ उनले भने, ‘थारू गाउँमा धान बालीको सुधार गर्न हरेरी पूजा महत्त्वपूर्ण मानिन्छ। हामी हरेक वर्ष पूजा गर्छौं।’
धानमा लाग्ने गुभिया, गाँधी, फट्यांग्रालगायतका सत्रु कीरा धपाउनका लागि हरेरी पूजा गर्ने गरेको उनको भनाइ छ। प्रत्येक गाउँमा आफ्नै अनुकूलमा हरेरी पूजा गर्ने गरेका किसान बताउँछन्।
‘हरेरी पूजामा ७ मुखे दियालोमा बत्ती बालेर मुरहा, सुच्चा, ५ पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ,’ किसान राधा चौधरीले भनिन्, ‘पूजा गरेपछि खेती सप्रन्छ भन्ने विश्वास छ।’
कुनै कुनै गाउँमा थारू किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन्।
यो पूजा नभएसम्म थारू गाउँमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलनसमेत रहेको टीकापुर वनगाउँका तेज चौधरीले बताए।
‘हरेरी पूजाको दिन थारू समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकाले यो दिन केही कार्य नगर्ने चलन छ।’
यसरी दिउँसो सुरु गरेको पूजा रातभर थारू समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन्।
दूध संकलन गर्ने र विशेष पूजा गरी खिर भन (खेतको मुहानमा हालिने विषादी) बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन्। यसरी पूजा गर्दा धान बालीमा कीरा नलाग्ने विश्वास छ।
किवदन्तीअनुसार प्राचीनकालमा महादेव र पार्वतीको कथनसँगै टुनामन्तर (पूजाआजा) गरेर खेतीपातीको रोग कीरा हटाएको विश्वास थारू समाजमा छ र त्यहीअनुसार यो पूजा थारू किसानले गर्दै आएको बर्का गुरुवा राधेश्याम चौधरीले बताए।
‘प्रकृति पूजकका रूपमा थारू समुदायमा यस्तै अन्य पर्व संस्कार रहेका छन्,’ उनले भने, ‘वर्षौंदेखिको विश्वास हो। यो पूजामा थारू समुदायका संस्कृति पनि जोडिएका छन्।’