कांग्रेस सभापति देउवाले बीपीकै कर्मथलोमा मनाए स्मृति दिवस

कांग्रेस बैठक लाइभ गरेपछि सकारात्मक कुरा आएको छ : देउवा

विवेक विवश रेग्मी ६ साउन २०८० १९:२४
42
SHARES
कांग्रेस सभापति देउवाले बीपीकै कर्मथलोमा मनाए स्मृति दिवस

इटहरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४१औँ बीपी स्मृति दिवस बीपीकै कर्मथलोमा मनाएका छन् । शनिबार दिनभर देउवा सुनसरीको इनरुवामा रहे। जिल्ला सम्मेलनलाई उद्घाटन गर्न सुनसरी आएका उनले सम्मेलनअघि बीपीको शालिक अनावरण गरे।

शालिक अनावरणपछि उद्घाटन कार्यक्रममा देउवा दिनभर बसे। उनले पार्टीका नगर सभापति, क्षेत्रीय सभापतिदेखि विभिन्न तहतप्काका नेता तथा कार्यकर्ताहरूको मन्तव्य सुने। कम बोल्न रुचाउने देउवाले शनिबार पनि कमै बोले।

उनले मन्तव्यका क्रममा बैठक लाइभ गरेका कारण सकारात्मक प्रतिक्रिया आएकाले आफूलाई खुसी लागेकोे बताए। शनिबार सुनसरीको इनरुवामा जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले अहिले चलिरहेको पार्टीको बैठक लाइभ गर्दा सकारात्मक प्रतिक्रिया आएकाे बताए। ‘पार्टीमा विरोधका कुरा पनि उठिरहेका छन्, स्वभाविक पनि हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘यसैबीच मैले पार्टीकाे बैठक लाइभ गरिदिएँ, यसकारण अहिले पार्टीभित्र सकारात्मक कुरा आएको छ। म खुसी छु।’

बीपी र गिरिजाप्रसादको कर्मथलो सुनसरीमा आफूले आउन पाएकोमा खुसी लागेकाे र आगामी दिनमा पनि आउने उनले  बताए। अहिले देखिएको नेपाली राजनीतिमा लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक रहेको उनले बताए। ‘लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक थियो, यसैकारण अहिले कांग्रेस पहिलो पार्टी बनेको छ,’ उनले भने, ‘आगामी दिनमा कांग्रेसलाई बहुमत दिलाउन सबै साथीहरूलाई एकजुट हुन आग्रह गर्दछु।’

उनले कार्यकर्तालाई निराश नहुनसमेत आग्रह गर्दै देशमा अहिले पनि स्थायित्व र दीगो शान्ति आवश्यक रहेको बताए। ‘लोकतन्त्रको रक्षा गर्ने पहिलो दायित्व कांग्रेसलाई छ,’ देउवाले भने, ‘बीपीले परिकल्पना गर्नुभएको लोकतन्त्रतको स्थायित्वका लागि दीगो शान्ति आवश्यक छ। त्यसका निम्ति सबैलाई एकजुट हुन आग्रह गर्दछु।’

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, कोशी प्रदेशका मुख्यमन्त्री तथा पार्टी प्रदेश सभापति उद्धव थापा लगायत केन्द्रीय सदस्यहरूले आआफ्ना धारणा राखे।

प्रकाशित: ६ साउन २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast