बेइजिङ– कोभिड-१९ महामारीको अन्त्यसँगै चीनमा सामाजिक र सिर्जनात्मक क्षेत्रमा मानिसहरूको सहभागिताले तीव्रता पाएको छ।
महामारीले निक्कै प्रभावित बनाएको चीन यतिबेला यहाँको पर्यटन विकासमा क्रियाशील भएको छ।
यतिबेला चीनमा नेपालबाट आउने सरकारी, गैरसरकारी, निजी क्षेत्रका अधिकारीहरू र पर्यटक निकै बढेको देखिन्छ।
चिनियाँ वायुसेवा कम्पनीहरूले पनि चीनका विभिन्न सहरहरूलाई काठमाडौँसँग जोड्ने जमर्को गरिरहेका छन्।
यसैबीच बेइजिङस्थित नेपाली धातु तथा हस्तकलाका सामग्री पाइने नेपाल क्राफ्टले इच्छुक चिनियाँहरूलाई नेपाली थांका पौबा बनाउने तालिम सञ्चालन गरेको छ।
यसका लागि नेपालबाट थांका गुरूलाई समेत निम्त्याएर प्रशिक्षणको व्यवस्था गरेको छ। पाटन, गाबहालका थांका गुरु अग्रीम रत्न शाक्य विगत २५ वर्षदेखि परम्परागत नेवारी पौबा चित्र बनाउँदै आएका छन्।
नेवारी पौबाको सिर्जनाबाहेक उनी तालिम पनि दिने गर्छन्। उनी तालिमकै लागि बेइजिङ पुगेको यो दोस्रोपटक हो।
यसअघि सन् २०१९ को ग्रीष्ममा पनि उनी यसरी चिनियाँहरूलाई नेवारी थांका बनाउने कला सिकाउन आएका थिए।
नेपाली थांकाप्रति चिनियाँको रुचि र लगाव देखेर उनी दंग छन्। ‘चिनियाँहरूलाई नेवारी थांका मौलिक लागेको छ,’ उनले भने, ‘यसप्रति उनीहरूको उत्सुकता र मेहेनत देखेर मलाई एकदम खुसी लागेको छ।’
हालको कार्यशालामा १३ जनालाई नेपाली शैलीमा बुद्धको आकृति बनाउन सिकाइरहेका अग्रिम पुराना विद्यार्थीलाई भेट्न पाएर पनि खुसी छन्।
‘४/५ वर्षपछि आउँदा पनि पहिला तालिम लिएका यहाँका केही विशिष्ट चित्रकारहरू अहिले पनि छन्। यसले मलाईसमेत थप ऊर्जा दिएको छ,’ उनले भने।
हालको कार्यशालामा ७ वर्षदेखि ६० वर्षसम्मका चिनियाँहरू सहभागी छन्। साथै यो जुलाई १३ बाट १५ दिनसम्म जुलाई २७ (श्रावण ११) सम्पन्न हुनेछ।
१५ वर्षदेखि चीन कर्मथलो बनाएका सुवर्ण डंगोल र उनकी चिनियाँ श्रीमतीले नेपाली विशेषतायुक्त सामग्री पाइने नेपाल क्राफ्ट नामको स्टोर सञ्चालन गर्दैआएका छन्।
यही क्राफ्टले नै बेइजिङमा नेवारी पौबा तालिम कक्षा सञ्चालन गरेको हो।
कोभिड अन्तपछि मानिसको दैनिकी र बजार-व्यवसाय सामान्य बन्दै गएको अवस्थामा यो तालिम सञ्चालन गराउन पाएकोमा सुवर्णकी श्रीमती स तानफिङ हर्षित देखिन्छिन्।
‘पसलमा नेपाली थांकाहरू बिक्री गर्ने गरेका छौं, योसँगै यस्तो बनाउने कार्यशाला सञ्चालन गर्ने विचार आयो। अनि कोभिडअघि एकपटक आयोजना गरेका थियौं। धेरैले पछिपछिसम्म पनि यसप्रति रुचि देखाएका थिए। अब कोभिडको अन्तसँगै यसलाई निरन्तरता दिने सोच छ,’ उनले हर्षित मुद्रामा भनिन्।
तिब्बती थांका विश्वप्रसिद्ध छ भने नेवारी पौबा पनि हाल विश्वमा तिब्बती थांकाको रूपमा नै प्रचलित छ।
विज्ञहरूका अनुसार, नेवारी र तिब्बती थांकामा कोरिने चित्र तथा देवीदवताको स्थान, रूप तथा प्रयोग गरिने रङ र रङ-पदार्थमा भिन्नता पाइन्छ। यद्यपि पौबा वा थांकामा विशेषतःबौद्ध धर्मसँग सम्बन्धित् देवदेवीलगायतका चित्र तथा कथा कोरिने गर्छ।
नेपाली थांका तथा नेपाली थांका कलाकारको प्रवद्धन गर्नुकार्यशालाको उद्देश्य रहेको सुवर्ण बताउँछन्।
‘नेपाली थांका तथा नेपाली थांका कलाकारको प्रवर्द्धन गर्न यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘पसलमा नेपाली थांका देखेर उत्सुक भएका चिनियाँ चित्रकार तथा पौबाको चित्रकला सम्बन्धमा चिनियाँ बौद्धमार्गीलाई पनि बुझाउने प्रयास हो।’
यहाँ ७ वर्षको बालक पनि सिक्दै छन्। उनकी आमा बौद्धमार्गी भएकाले छोराले बुद्ध धर्मसम्बन्ध जानकारी तथा ज्ञान लिन सकोस् भन्ने उद्देश्यले यो तालिममा सहभागी गराएकी हुन्।
‘अहिले सात वर्षको बालक वोवो पनि यहाँ सिक्दै छन्। बौद्धमार्गी आमाको चाहनाअनुसार छोराले धर्मबारे जानोस् बुझोस् भन्ने रहेछ, त्यो बालकको धीरता देखेर पनि खुसी लागेको छ,’ अग्रीम भन्छन्।
पौबा बनाउन सिकिरहेका भिक्षु गुरु चोङहाइ बुद्धको आकृतिको चित्र कोर्दैगर्दा सुखानुभूति महसूस भएको बताउँछन्। ‘ध्यानमा बसेजस्तो सुख र शान्त महसूस गरेको छु,’ उनले भने।
तालिममा बसेका अरू सबै पनि मनमा शान्ति मिलेको बताउँछन्।
सुन नामकी महिला भने चित्र कोर्ने र रङको प्रयोग सम्बन्ध नेवारी थांकाबाट नयाँ ज्ञान आर्जन गर्दै गरेको बताइन्।
सिप तालिमकालागि समयवाधि छोटो भए तापनि धार्मिक मानिस र चित्रकारितालाई नै पेसा र सौख बनाएकाहरूबीचको तालिम उपलब्धिमूलक देखिएको अग्रीम बताउँछन्।
‘१५ दिनको छोटो समयमा तालिम दिनु चुनौतीपूर्ण नै हो। तथापि अधिकांश रङ तथा चित्रसँग खेलिरहेका तथा बुद्ध धर्मप्रति आस्था भएकाहरूसँगको यो छोटो समय पनि उपलब्धिमूलक नै छ,’ उनले भने।
कार्यशाला आयोजक स तानफिङ र सुवर्णको आसाजस्तै यस किसिमका कार्यशालाले नेपाली पौबा, नेपाली संस्कृतिको प्रचारसँगै जनस्तरमा नै सम्बन्ध गाढा बनाउन योगदान पुर्याउनसकिने छ।
सन् २०२३ को पहिलो ६ महिनामा चीनमा १६ करोड ८० लाख यात्रुको आगमन र बहिर्गमन भएको छ। चीनको राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार यो तथ्यांक सन् २०१९ को तुलनामा ४८.८ प्रतिशतले बढी हो।