कालिञ्चोक, प्राकृतिक सुन्दरता र सांस्कृतिक सौहार्दताको संगम थलो। तीन हजार आठ सय ४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोकबाट गौरीशंकर, गणेशलगायत हिमशृङ्खला देख्न सकिन्छ।
दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटर दूरीमा रहेको कालिञ्चोकको धार्मिक विशेषतासँगै प्राकृतिक विशेषतासमेत रहेको छ। कालिञ्चोकको सानो थुम्कामा रहेको कुण्ड र विभिन्न अवसरमा लाग्ने जात्रामा सयाैँ श्रद्धालुको आकर्षणलाई सांस्कृतिक सत्यताको उदाहरण मान्दछन् यहाँका स्थानीय।
किंवदन्तीअनुसार देवताहरूलाई दानवहरूले दुःख दिई राज्यबाट च्यूत गराएपछि उनीहरू देवीको शरणमा गए। देवताहरूको आराधनाबाट खुसी भएकी देवीले दानवलाई युद्धमा परास्त गरिन्। यसरी दानवहरूलाई परास्त गर्ने क्रममा एउटा रक्तबीज राक्षससँग युद्ध गर्नुपर्ने भयो।
रक्तबीजको एक थोपा रगत जमिनमा पर्नासाथ एउटा दानव उत्पत्ति हुने भएकाो त्यो दानवको रगत चुहिन नदिन देवीको आह्वानमा काली उत्पन्न भइन्। कालीले रक्तबीजको रगत भुइँमा चुहिन नदिई त्यसलाई मारिदिइन्। यसरी कालीले रक्तबीज लगायतको दानवलाई मारेको स्थान कालिञ्चोक हो।
पुसदेखि फागुन-चैतसम्म सेताम्य हिउँले ढाकिने कालिञ्चोकको कुरी र थुम्का आसपास जेठदेखि साउनभदौसम्म विभिन्न प्रजातिका फूलहरूले पाखै रङ्गीचङ्गी बनाएको हुन्छ। अझ विभिन्न रङ्गको चिमालले कालिञ्चोकको सौन्दर्यमा चार चाँद लगाएको हुन्छ।
असार-साउनमा वर्षा र बादलसँग बदलिने मौसमले फूलहरूको सुगन्ध र सौन्दर्यलाई चहकिलो पारिदिन्छ। यही मौसममा हरियो पाखाभरी याक र चौँरीले लुकामारी खेल्दै भागदौड गरेको दृश्यले पर्यटक आफ्नो गन्तव्य भुलेर यतै रमाइरहेका हुन्छन्।
राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको सुन्दर धार्मिक एवं प्राकृतिक पर्यटकीय केन्द्र कालिञ्चोकले हरेक मौसममा फरकफरक सुन्दरता परख गर्ने अवसर दिलाइरहेको हुन्छ। जुनसुकै मौसममा कालिञ्चोक पुग्ने पर्यटकले पनि आहा कालिञ्चोक! भन्दै निर्धक्क उत्साह पोखिरहेका हुन्छन्। कालिञ्चोकको कुरीमा सुविधासम्पन्न होटल भएकाले पनि कालिञ्चोक पुग्ने पर्यटकले सहज महसुस गर्न सक्ने अवस्था छ। कुरीबाट कालिञ्चोकको टाकुरासम्म केबलकार सञ्चालनमा आएकोले पनि पर्यटकलाई मन्दिर पुग्न निक्कै सजिलो छ।